आइतवार, वैशाख १६, २०८१
NayaPaper | अनलाइन पत्रिका

दमकमा कभर्डहल निर्माण

शुक्रवार, चैत ९, २०८०

दमक (झापा), ९ चैत : झापामा ब्याडमिन्टन खेलाडीको पहलमा कभर्डहल निर्माण गरिएको छ । दमक नगरपालिका–७ नमुना बस्तीमा कभर्डहल निर्माण गरिएको हो ।

कभर्डहलको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गर्नुभयो । कभर्डहल निर्माणका लागि दमक–७ को वडा कार्यालयले १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएको हो । सोही जग्गामा दमक नगरपालिका, कोशी प्रदेश सरकार र सङ्घीय सरकारले उपलब्ध गराएको रु एक करोड ५० लाखमा कभर्डहल निर्माण गरिएको दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईले जानकारी दिनुभयो ।

कभर्डहलमा ब्याडमिन्टनका चार कोर्टसहित खेलाडीको सुविधाका लागि अन्य संरचनासमेत निर्माण गरिएको छ । विसं २०७८ माघ ३ गते सो कभर्डहलको शिलान्यास गरिएको थियो । कभर्डहल निर्माण गर्न ब्याडमिन्टन खेलाडी टङ्क बस्नेतको अध्यक्षतामा निर्माण समिति गठन गरिएको थियो ।

यसैगरी दमक–९ स्थित शान्तिचोकमा कभर्डहलको पुनःनिर्माण कार्यले तीव्रता पाएको छ । कभर्डहल निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत सरकारले चालु आर्थिक वर्षमा रु ८५ लाख ४६ हजार विनियोजन गरेको थियो ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष केन्द्रबहादुर प्रसार्इंका अनुसार एक दशकदेखि निर्माण थालिएको सो कभर्डहल बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको थिएन । कभर्डहलको लागत रु १४ करोड रहेको छ । हालसम्म रु तीन करोड बराबरको संरचना तयार भएको उहाँले बताउनुभयो । सो कभर्डहल निर्माणका लागि पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहले १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।

सम्बन्धित खबर