बिहिवार, मंसिर ६, २०८१
Nayapaper | अनलाइन पत्रिका

सभामुख घिमिरेद्वारा पेय पदार्थ निर्यात गर्ने उद्योगको निरीक्षण

बिहिवार, वैशाख ६, २०८१

झापा, ६ वैशाख : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पेय पदार्थ उत्पादन गरी ३५ मुलुकमा निर्यात गर्दै आएको झापास्थित सिङ्गापुर बेभरेज प्रालिको बुधबार निरीक्षण गर्नुभएको छ ।

मेचीनगर–१४ दुहागढीस्थित प्रालिको कारखानामा उहाँले हलुका पेय पदार्थ उत्पादन हुने प्रविधि, प्रक्रिया र व्यापारका बारेमा जानकारी लिनुभयो । सभामुख घिमिरेले उद्योगले आफ्ना उत्पादन विदेशमा निर्यात गरिरहेको विषयमा जिज्ञासा राख्नुभएको थियो । उद्योगले झेलिरहेका समस्या, राज्यले गर्नुपर्ने सहयोग र कानुनी व्यवस्थाको बारेमा उहाँले चासो व्यक्त गर्नुभएको प्रबन्ध निर्देशक आशिष शर्माले बताउनुभयो ।

उहाँले पहाडको लहरे आँप, तराईको आँप, अनारस, खरबुजालगायतका स्वदेशमै उत्पादन हुने फलफूलको रसलाई कच्चा पदार्थको रुपमा प्रयोग बढाउन सुझाव दिनुभयो । चर्को प्रतिस्पर्धाको आजको युगमा नेपाली उत्पादनले विश्व बजारमा लोकप्रियता हासिल गर्नु गर्वको विषय भएको सभामुख घिमिरेले बताउनुभयो ।

शर्माले छोटो अवधिमै उद्योगका उत्पादनलाई युरोप र अमेरिकालगायत विभिन्न ३५ मुलुकमा पु-याउन सफलता प्राप्त भएको बताउनुभएको छ । उद्योगले जर्मनी मेसिनबाट विश्वस्तरीय पेय पदार्थका विभिन्न ब्रान्डहरु उत्पादन गरिरहेको जानकारी दिँदै जिरा मसलाको स्वाद रहेको जिरु हाल भारत, अस्ट्रेलिया र अमेरिकामा निर्यात भइरहेको उहाँको भनाइ छ ।

सन् २०१६ मा स्थापना भएको प्रालिले उत्पादन गरेका जिरु, निम्बुपानीलगायतका ब्रान्डले कोकाकोलाजस्ता बहुर्राष्ट्रिय कम्पनीबाट उत्पादित ब्रान्डसँग बजारमा प्रतिस्पर्धा गरिरहेको प्रबन्ध निर्देशक शर्माले सभामुख घिमिरेलाई अवगत गराउनुभयो ।

यसैगरी, सभामुख घिमिरेले आजै मेचीनगरको एनएमसी नमूना कृषि परियोजनाको अवलोकन गर्नुभयो । मेचीनगर-१४ मा १६ बिघा जग्गामा फैलिएको उक्त परियोजनामा झापाकै ठूलो गाई फार्म सञ्चालित छ ।

सम्बन्धित खबर