बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा बाख्रा साटासाट कार्यक्रम प्रभावकारी,पाठा वितरणको लागि खोर निर्माण हँदै

शनिवार, वैशाख २२, २०८१

बिर्तामोड, २२ बैशाख : झापाको बिर्तामोड नगरपालिकाले किसानहरुलाई बाख्रा पालनका लागि पाठा वितरणको तयारी गरेको छ । बाख्रा पालनका लागि किसानहरुले खोर निर्माण अन्तिम चरणमा पुराएका छन् ।

मेयर पकेट कार्यक्रमको बाख्रा साटासाट कार्यक्रम अन्तर्गत नगरपालिकाले नयाँ दुई समूह गठन गरेर बाख्रा वितरणको तयारी गरेको हो । दुई समूहमा आवद्ध हुने ३० जना किसानलाई ३-३ वटा पाठी र एक समूहलाई एउटा विउ बोका वितरण गर्ने तयारी गरिएको पशु तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनुभयो ।

१५ वटा समूहले यसअघि नै बाख्रा पालन गरिरहेका छन्, अब नयाँ २ वटा समूह गठन गरिएको छ । नयाँ समूहहरुले बाख्रा पालनका लागि खोर निर्माण लगभग सकेका छन् । खोर निर्माणको अवस्था बारे नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, पशु शाखा प्रमुख, प्राविधिक, इन्जिनियरसहितको समूहले शुक्रवार अनुगमन गरेको छ । अनुगमनका क्रममा खोर निर्माण सम्पन्न भएको शाखा प्रमुख दाहालको भनाई छ ।

उहाँले बिर्तामोड ९ को जीवनआधार महिला विकास समूह र बिर्तामोड ८ को किसानभिट्टा व्यवसायिक बाख्रा पालन समूहबाट फिर्ता आउने बाख्रा नयाँ समूहलाई दिइनेछ । ३० वटा खोर निर्माणका लागि नगरपालिकाले हरेक किसानलाई ३५ हजारका दरले सहयोग गरेको छ ।

शाखा प्रमुख दाहालका अनुसार मापदण्ड अनुसार खोर निर्माण गरेपछि किसानलाई बाख्रा उपलब्ध गराउने गरिएको छ । मापदण्ड अनुसार खोर निर्माण गरेका किसानलाई सोमवारभित्रमा बाख्रा उपलब्ध गराउने तयारी गरिएको छ ।
खोर निर्माणमा ३५ हजार लगानी गर्नेदेखि निुशल्क बाख्रा वितरण, वीमा, घाँसको विउ, नाम्ले जुकाको औषधि र खोपसम्मको सुविधा उपलब्ध गराउने उहाँले बताउनु भयो ।

नगर उपप्रमुख संग्रौलाले आगामी दिनहरुमा पन कार्यक्रम जारी राख्ने बताउनुभयो । विउ पुँजीको रुपमा बाख्रा पाउने किसानले एक डेढ वर्षमा अर्को समूहका लागि बाख्रा फिर्ता गर्ने गरेको बताउनुभयो ।
गाउँगाउँमा महिलाको जीवनस्तर उठाउनका लागि बाख्रा साटासाट कार्यक्रम प्रभावकारी भएको उहाँको भनाई छ ।वडा नं. ८, ९, १० मा सफल भएको कार्यक्रम यो वर्षबाट वडा नं. २ मा पनि विस्तार गरिएको उपप्रमुख संग्रौलाले जानकारी दिनुभयो ।

सम्बन्धित खबर