बिर्तामोड,३१ बैशाख : कृष्ण शाक्यको व्यक्तिगत पाँच गोलसँगै आयोजक निलो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली हाम्रो इटहरी भेट्रान्स फुटबल क्लबमाथि गोल वर्षा गरेको थियो ।
इटहरीलाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब निलो अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलको १२ औँ मिनेटमा पूर्वेलीका मित्र बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए । पाँच मिनेटभित्र आयोजकले लगातार तीन गोल गर्दै खेल ४–० मा पुर्याएको थियो ।
कृष्ण शाक्यले खेलको २६ औँ, २९ औँ, ४५ औँ, ५१ औँ र ७० औँ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै, ३० औँ मिनेटमा मित्र बस्नेतले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै, खेलको ५७ औँ मिनेटमा अंकुर खड्गी र ६५ औँ मिनेटमा सुमन श्रेष्ठले एकएक गोल गरे ।
प्रतियोगिताको प्लेयर अफ द म्याच ४ गोलकर्ता कृष्ण शाक्य भए । उनले नगद २५०० र ट्रफी पाए ।
यसअघि क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं र राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले शुभकामना व्यक्त गरेका थिए ।
सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा क्लबका महासचिव विकास बस्नेतले स्वागत गरेका थिए ।
कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने प्रतियोगिता संयोजक टेकराज तिलिङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ चौधरीले बताए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचाले नगद २५०० र ट्रफी पाउने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक तिलिङले बताए ।
क्लबका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठ स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् । उपविजेताको पुरस्कार टुबोर्ग बियरले उपलब्ध गराएको हो ।
१५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित पूर्वेली युवा क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।