शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड ६ का महिला कृषकहरुलाई बाख्रा वितरण

सोमवार, जेठ २८, २०८१

बिर्तामोड, २८ बैशाख : बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई आज (सोमबार) बाख्रा वितरण गरिएको हो ।  
नगर प्रमुख पवित्रा महतारा प्रसाईले याग्राङ्ग सिङ्ग कृषक समूहलाई ४५ वटा पाठी र एउटा बोयर जातको विउ बोका वितरण गर्नु भयो । समूहमा रहेका १५ जनाले तीन तीन वटाको दरले बाख्रा प्राप्त गरेका छन् । 
 
 मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा प्राप्त गरेको समूहले एक वर्षपछि त्यतिनै संख्यामा बाख्रा अर्को समूहलाई हस्तान्तरण गर्नु पर्ने व्यवस्था छ । आज प्रदान गरिएको बाख्रा वडा नम्बर ८ को किशान भिट्टा व्यवसायिक तथा पशुपालन कृषक समूहबाट उपलव्ध गराईएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ यता ७ सय २१ वटा बाख्रा वितरण गरिसकेको छ । साथै यस अवधिमा २ सय ४० वटा खोर पनि निर्माण गरीदिएको छ। बाख्रा वितरण गरेपछि नगरपालिकाले खोर निर्माणसंगै वीमा, खोप, सिजनको घाँस र औषधी उपचारमासमेत सहयोग गर्दै आएको छ ।  
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले ग्रामिण महिलाहरुको आर्थिक उपार्जनका लागि सञ्चालन गरिएको बाख्रा साटासाट कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो । उहाँले स्थानीय सरकारको अभ्यास सुरु भएसँगै मेयर पकेट कार्यक्रम सञ्चालन भएको र बाख्रा, बंगुर साटासाट कार्यक्रमले नगरपालिकाको लक्ष्य प्राप्त गरिरहेको धारणा राख्नुभयो । महिलाहरुले बाख्रा पालन सुरुगरेपछि छोराछोरीको शिक्षा, चाडपर्व र घर खर्च चलाउन सघाउ पुगेको भन्दै नगर प्रमुख प्रसाईले बाख्रालाई राम्रो पालनपोषण गरेर मनग्य आम्दानी लिन आग्रह गर्नुभयो । 
 
बिर्तामोडमा बाख्रा पालनमा १५ वटा महिला कृषक समूह रहेको पशुपंछि तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनुभयो । उहाँले यस कार्यक्रम अन्तर्गत कृषकहरुले वार्षिक ६० हजार देखि ३ लाख रुपैयाँसम्म आम्दानी गरेको जानकारी दिनुभयो ।
 नगरले सुरुवातमा २ लाख ६५ हजार लगानी गरेर बाख्रा खरिद गरी मेयर पकेट अन्तर्गत बाख्रा साटासाट कार्यक्रमलाई अघि बढाएको थियो । आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित बाख्रा वितरण कार्यक्रममा स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर