बुधवार, असार १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

तीन दशकपछि मेचीनगरको राईसिंह खोलामा पक्की पुल निर्माण

आइतवार, असार २, २०८१

झापा, १ असार : झापाको मेचीनगर नगरपालिकास्थित राइसिंह खोलामा तीन दशकपछि पक्की पुल निर्माण भएको छ । मेचीनगर–२ र ४ का बासिन्दाले लामो समयदेखि उक्त पुल निर्माणको माग गर्दै आएका थिए ।

रु सात करोड २६ लाखको लागतमा पुल निर्माण गरिएको हो । हात्ती प्रभावित साविक बाहुनडाँगी बजार र भृकुटी क्षेत्रलाई जोड्ने सो पुल निर्माणका लागि २०५१ सालदेखि पहल गरिँदै आएको थियो । एक दशकअघि रु ४० लाखको लागतमा तत्कालीन जिल्ला विकास समितिले राइसिंह खोलामा पुल निर्माण थालेको थियो । तर बजेट अभावमा सो पुल बन्न सकेको थिएन । सो पुलदेखि उत्तरतर्फ २०७७ सालमा अर्को पुल निर्माण थालिएको थियो ।

बजेट अभावका कारण पुल हस्तान्तरणमा ढिलाइ भएको कोशी प्रदेश पूर्वाधार विकास कार्यालयका अधिकृत सुरेन्द्रप्रसाद साहले बताउनुभयो । उहाँले भन्नुभयो, “भुक्तानी बक्यौताका कारण पुल हस्तान्तरणमा ढिलाइ भएको हो, चालु आवभित्रै भुक्तानी गछौँ ।”

पुल बनेपछि मेचीनगरको हात्ती प्रभावित बाहुनडाँगीका १८ हजारभन्दा बढी बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । तीन दशकदेखि प्रत्येक निर्वाचनमा उम्मेदवारहरुले उक्त पुल बनाउने प्रतिबद्धता जनाउँदै आएका थिए । पछिल्लोपटक कोशी प्रदेश सरकारले प्राथमिकतापूर्वक बजेट सुनिश्चित गरेपछि पुल निर्माण सम्पन्न भएको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले बताउनुभयो । पुलको लम्बाई ५१ मिटर तथा चौडाई ८ दशमलव ४० मिटर रहेको छ । हस्तान्तरण गर्न बाँकी भएपनि आवतजावतका लागि पुल खुला गरिएको छ ।

 

सम्बन्धित खबर