शनिवार, असोज १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड नगरपालिकाद्वारा शैक्षिक गतिविधि तीब्र गतिमा सञ्चालन

शनिवार, असार ८, २०८१

झापा, ८ असार : बिर्तामोड नगरपालिकाले वर्ष २०८१ लाई शैक्षिक उपलब्धि वृद्धि वर्षको रुपमा घोषणा गरेपछि विभिन्न शैक्षिक गतिविधिहरु तीव्र गतिमा सञ्चालन हुन थालेका छन्।
यसै वर्षको सुरुवातमै बिर्तामोडको शिक्षा शाखाले बिर्तामोड नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्यापन गराउने विषयगत शिक्षकहरूको पहिलो नगर सम्मेलन मार्फत गठन गरेको विषयगत समितिहरु सक्रिय हुन थालेका छन्। उक्त सम्मेलनले पाँचवटा विषयगत समितिहरु गठन गरेको थियो। गठित समितिहरूमा अङ्ग्रेजी नेपाली विज्ञान गणित र सामाजिक समितिहरू रहेका छन्।
सोही अवसरमा शिक्षक तथा विद्यालयहरूले २१ बुँदे प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेपछि विषयगत समितिहरूले आआफ्नो क्रियाकलाप अगाडि बढाएका हुन्। 

यसै क्रममा अङ्ग्रेजी विषय समितिले शुक्रबार बिर्तामोड स्थित महेन्द्ररत्न माविको तालिम हलमा अङ्ग्रेजी विषयक एक दिने अन्तरक्रिया तथा कार्यशाला सञ्चालन गरेको थियो। कार्यशालामा बिर्तामोड नगर क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका ४० जना शिक्षकहरू सहभागी रहेका थिए।

नगरपालिकाले शैक्षिक क्षेत्रमा संस्थागत र सामुदायिक विद्यालयहरूलाई एकैसाथ लिएर अगाडि बढ्ने नीति अवलम्बन गरेपछि दुवै विद्यालयका शिक्षकहरु लाभान्वित भएका छन्। शुक्रबार सञ्चालित कार्यशालामा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीले नगरको समग्र शैक्षिक अवस्थालाई सुधार गर्न विषयगत समिति गठन गरी सक्रिय बनाइएको जानकारी दिनुभयो। उहाँले यस वर्ष सिकाई उपलब्धिलाई वृद्धि गरी शैक्षिक गुणस्तर कायम गर्न बिर्तामोड नगरपालिका शिक्षा शाखा तथा सम्पूर्ण विद्यालयहरू लागि परिरहेको बताउनुभयो।

कार्यशालालाई बिर्तामोड नगरस्तरीय विषयगत समिति सञ्जालका सदस्य धर्मेन्द्र भट्टराई अंग्रेजी विषयगत समितिका संयोजक लक्ष्मण सिवाकोटी र सदस्य केशव उप्रेतीले सहजीकरण गरेका थिए।  कार्यशालामा शिक्षण सिकाई सम्बन्धी सीप प्रश्न गर्ने तरिका तथा प्रश्न निर्माण गर्ने तरिका र परियोजना कार्यलाई मूल्याङ्कन गर्ने तरिकाहरूको विषयमा छलफल गरिएको थियो। 

कार्यक्रममा नगरस्तरीय विषयगत सञ्जालका सदस्य लीलाप्रसाद भण्डारी, शिक्षक महासङ्घ बिर्तामोडका अध्यक्ष युवराज कटेल, महेन्द्र रत्न मावि बिर्ता बजारका प्रधानाध्यापक खड्गप्रसाद खरेल, न्युटन्स एजुकेसन एकाडेमिका प्रिन्सिपल देवेन्द्र हुमागाई लगायतको उपस्थिति रहेको थियो।

यसअघि नेपाली विषयगत समिति र विज्ञान विषय समितिले पनि नगरका शिक्षकहरूका लागि तालिम कार्यक्रमको आयोजना गरेका थिए। बिर्तामोड नगरपालिकाले विषयगत समितिहरू मार्फत शैक्षिक क्रियाकलापलाई गतिशील बनाउन महत्वपूर्ण योगदान हुने विश्वास लिएको छ।

सम्बन्धित खबर