आइतवार, मंसिर ९, २०८१
Nayapaper | अनलाइन पत्रिका

पत्रकारिताप्रतिको विश्वसनीयता गुम्दै जानु चिन्ताजनकः अध्यक्ष बस्नेत

शनिवार, असार २२, २०८१

झापा, २२ असारः प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यलाई बेवास्ता गर्ने प्रवृत्तिले पत्रकारिता क्षेत्रमा विश्वसनीयता गुम्दै गएको बताउनुभएको छ । उहाँले गुमेको विश्वसनीयता फर्काउने कार्य चुनौतीपूर्ण रहेको बताउनुभयो ।

काउन्सिलले आज विर्तामोडमा आयोजना गरेको ‘नयाँ प्रविधिको माध्यमबाट उन्नत पत्रकारिता’ विषयक दुई दिवसीय तालिमको उद्घाटन कार्यक्रममा अध्यक्ष बस्नेतले उक्त धारणा व्यक्त गर्नुभएको हो । समाजलाई अग्रगति र रुपान्तरणको दिशामा लैजाने पत्रकारिताको विश्वसनीय खस्कँदै जानु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।

“तथ्य र प्रमाणले पुष्टि नगरी समाचार लेख्दै जाने हो भने पत्रकारितामाथिको विश्वसनीयता सिद्धिन्छ”, उहाँले भन्नुभयो, “पत्रकारिता कता गइरहेको छ भन्ने विषयमा आम पत्रकारहरू गम्भीर हुनपर्छ ।” पत्रकारितामा गुम्दै गएको साख फर्काउन काउन्सिलले देशव्यापी रूपमा आचारसंहिता पालनाका लागि जागरण अभियान चलाइरहेको उहाँले जानकारी दिनुभयो । आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई काउन्सिलले सचेत गराउँदै आएको बताउनुभयो ।

झापा, इलाम, मोरङ र सुनसरीका ४० भन्दा बढी महिला पत्रकार सहभागी रहेको उक्त तालिम आइतबार समापन हुने काउिन्सलका सदस्य गणेश पोखरेलले बताउनुभयो । आज पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र मल्टिमिडियाका लागि फोटो र भिडियो खिच्ने तरिकाका विषयमा प्रशिक्षक लीला भट्टराई र नसना श्रेष्ठले तालिम प्रदान गर्नुभएको थियो ।

सम्बन्धित खबर