शुक्रवार, कार्तिक २, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रमका लागि सम्झौता

बुधवार, असार २६, २०८१

बिर्तामोड, २६ असार : बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ ।
कार्यक्रम सञ्चालनका लागि बिर्तामोड नगरपालिका र करुणा फाउण्डेसनविच मंगलबार सम्झौता भएको हो।

सम्झौतामा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, महिला विकास अधिकृत पुष्पा कार्की र साझेदार संस्था करुणाको तर्फबाट कार्यकारी निर्देशक दिपकराज सापकोटा, व्यवस्थापक सन्तोष घिमिरेलगायतले हस्ताक्षर गर्नु भयो ।

नगर प्रमुख प्रसाईले कार्यक्रमलाई सफल बनाउन सबैलाई सुझाब दिनुभयो ।उहाँले अपाङ्गता रोकथाम तथा पुन:स्थापनाका लागि जटिलताहरु धेरै भएपनि प्रयास आवश्यक रहेको धारणा राख्नुभयो । पहिलो एक वर्षको प्रगतिका आधारमा कार्यक्रमलाई थप अगाडि बढाइने नगर प्रमुख प्रसाईको भनाई छ ।

अपाङ्गता रोकथाम तथा पुन:स्थापनाका लागि करुणा फाउण्डेसनले कोशीका सबै जिल्लामा यो कार्यक्रम सञ्चालन गर्दै छ । बिर्तामोडसहित झापाका ११ वटा पालिकामा सम्झौता सम्पन्न भएको कार्यकारी निर्देशक सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै अपाङ्गता स्वालम्वन संस्थाका अध्यक्ष दिपक थापाले पाँच वर्ष अघिनै गर्नु पर्ने यो कार्यक्रम ढिलै भएपनि सञ्चालन हुन लागेको भन्दै नगरपालिका प्रति खुशिव्यक्त गर्नुभयो ।

नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले घरमा एक जना अपाङ्गता भएको व्यक्तिहुँदा थप एक जना हेरचाहमा बस्नु पर्ने वाध्यता रहेकोले सबैलाई आत्मनिर्भर बनाउन कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम सञ्चालका लागि सामाजिक विकास मन्त्रालय, पालिका र करुणाको लागत साझेदारी रहनेछ । अपाङ्गता हुनबाट जोगाउन जन्मजात रोकथाम, भएका व्यक्तिहरुको पुन:स्थापना र सेवा प्रवाह गर्ने संस्थाहरुको सुदृढिकरणका विषयमा प्रमुखरुपमा काम गर्ने संस्थाका पाँचथर संयोजक केदार भण्डारीले जानकारी दिनुभयो ।

कोशी प्रदेशका अन्य जिल्लाहरु मध्ये अपाङ्गता भएका व्यक्तिहरुको संख्या झापामा उच्च छ । बिर्तामोडमा मात्रै १२ सय भन्दा बढी अपांगता भएका व्यक्ति रहेको तथ्याङ्कमा उल्लेख छ ।

करुणासंगको सम्झौता अवधि ३ वर्षको छ । बिर्तामोडमा कार्यक्रम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयको ३९ लाख, बिर्तामोड नगरपालिकाको ३५ लाख र करुणा फाउण्डेसनको ३५ लाख रुपैयाँ बजेट रहेको जनाईएको छ ।

सम्झौता आगामी साउन १ गतेदेखि लागूहुने छ । प्रत्येक पालिकामा आवश्यकताको आधारमा सहजकर्ता नियुक्त गरेर कार्यक्रम अघि बढाउने करुणा फाउण्डेसनले जनाएको छ ।

सम्बन्धित खबर