शुक्रवार, कार्तिक २, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

शुक्रवार, असार २८, २०८१

भद्रपुर (झापा), २८ असार : झापालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गरेको हो ।

कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्नेगरी अभियान अगाडि बढेको बताउनुभयो । यही असार ३० गते प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गर्न लागिएको जानकारी दिनुहुँदै उहाँले यस कार्यमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वंयसेविकाले गरिरहनुभएको योगदानको उच्च प्रशंसा गर्नुभयो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख एवं खोप समन्वय समितिका संयोजक विश्वनाथ बरालले पूर्ण खोप सुनिश्चितता कार्यलाई निरन्तरता दिन सबैले योगदान र भूमिका खेल्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जिल्लाका १५ वटै स्थानीय तहबाट प्राप्त तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो । उहाँले राष्ट्रिय खोप तालिकानुसार झापा जिल्लाभरिका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि यस्तो घोषणा गरिएको जानकारी दिनुभयो । बाराकोटीका अनुसार यहाँ रहेका दुई सय ८७ खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

यसैगरी स्वास्थ्य कार्यालय झापाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुन लागेका २६ महिला स्वास्थ्य स्वंयसेविकालाई नगद रु २० हजारसहित सम्मान गरेको छ । यस्तै सबै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वस्थ्यकर्मीबाट एक/एक जनालाई सम्मान गरिएको छ ।

सम्बन्धित खबर