मङ्गलवार, मंसिर १८, २०८१
Nayapaper | अनलाइन पत्रिका

बिर्तामोड ३ बुद्धनगरमा गुरुङ जातिको सङ्ग्रहालय निर्माण हुँदै

शनिवार, असार २९, २०८१

बिर्तामोड, २९ असार : बिर्तामोड नगरपालिका वडा नम्वर ३ स्थित बुद्धनगरमा गुरुङ जातिको सङ्ग्रहालय निर्माणधिन अवस्थामा छ ।

गुरुङ जातिको मौलिक भेषभूषा, प्राचीन सरसामान संग्रहित गर्ने उद्धेश्यले सङ्ग्रहालयको निर्माण गरिएको हो । यस समुदायको आफ्नै शास्त्र, संस्कार र संस्कृति छन्। तीमध्ये अधिकांश मौखिक मात्र रहेको र लिखित दस्तावेज नरहेको स्थानिय सलबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो , 'गुरुङ जातिको संस्कृति झल्कने विभिन्न सामग्री राख्ने योजना गरिरहेका छौँ, संग्रहालयभित्र छिरेपछि जन्मेदेखि मृत्युसम्मको सबै संस्कार अवलोकन गर्न पाइन्छ' ।

भवनमा गुरुङ समुदायको इतिहास झल्कने मौलिक तथा परम्परागत वस्तुको सङ्ग्रहालयदेखि पुस्तकालयसम्म उपलब्ध हुने छ ।
तोमु ह्युल छोंज धीं गुरुङद्वारा निर्माण गरिएको भवन तीन तलाको बन्ने छ । भवनमा भुइँतलामा सभाहल, पहिलो तलामा कार्यालय र बैठक कक्ष तथा माथिल्लो तलामा सङ्ग्रहालय रहने भवन निर्माण समितिका अध्यक्ष कुमार गुरुङले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो , “ तमु ह्युल छोंज धीं नगर समितिको आफ्नै दुई कठ्ठा जग्गामा यो सङ्ग्रहालय बन्ने भएको हो । सङ्ग्रहालय निर्माणका लागि हालसम्म बिर्तामोड नगरपालिकाबाट १५ लाख रुपैयाँ र शहरी विकास मन्त्रालयबाट ३० लाख रुपैयाँ बजेट प्राप्त भएको छ । त्यही रकमबाट एक तला निर्माण सम्पन्न भएको छ ।”

तीन बर्षे योजना बनाएर भवन निर्माण सुरु गरेको र तीन तहकै सरकारसंग रकन माग गरेकोले त्यहाँबाट प्राप्त भएपछि निर्माण सम्पन्न गर्ने जनाईएको छ ।

सम्बन्धित खबर