शुक्रवार, कार्तिक २, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन

सोमवार, साउन ७, २०८१

बिर्तामोड, ७ साउन : बिर्तामोड नगरपालिकाले 'पारीको होइन बारीको खाऊँ' भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ ।

आज (सोमबार) एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि नगरकी कार्यवाहक नगर प्रमुख सिता ढुंगानाले रिवन काटेर बिक्री केन्द्रको उद्घाटन गर्नु भयो ।नगरपालिकाले ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरेको छ । वडा नम्बर १ मा अतिथिसदन, वडा नम्बर ३ मा बिर्ताबजार, वडा नम्बर ४ मा सुलभ, वडा नम्बर ५ मा तमुटोल र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्र स्थापना गरिएको छ । यस्तै बुट्टाबारी, गरामनी, चारपाने र सैनिकबजारमा संकलन तथा बिक्री केन्द्र र कृषिथोक बजारमा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ।

नगरका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले स्थानीय कृषिजन्यवस्तुको बजारीकरण, विषादी न्युनिकरण र अन्य कृषिबजारको तुलनामा सुलभ मुल्य नै तरकारी बिक्री तथा संकलन केन्द्रको विशेषता रहेको जानकारी दिनुभयो । उहाँले स्थानीय कृषकले उत्पादन गरेका सबै प्रकारका तरकारी तोकिएका संकलन केन्द्रबाट मात्रै खरिद गरिने बताउनु भयो । बिक्री केन्द्रमा पुर्याउनु भन्दा अघि तरकारीमा विषादी मापन गरिनेछ । विषादीरहित खान योग्य तरकारीमात्रै बिक्री गरिने कृषि शाखाले जनाएको छ ।बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्षको योजना अनुसार तरकारी बजार व्यवस्थापन कार्यक्रम अघि बढाएको हो । बिर्तामोडमा १ सय १७ जना व्यवसायीक तरकारी कृषक रहेका छन् ।

सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन कार्यक्रममा
नगरकी कार्यवाहक नगर प्रमुख सिता ढुंगाना, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य संगिता सिवा लगायत जनप्रतिनिधि तथा कृषक, उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर