बिर्तामोड, १६ साउन : बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले तरकारीमा पाइने विषादी न्यूनीकरणका लागि 'पारिको होइन बारीको खाउँ' कार्यक्रम सुरु गरिएको बताउनु भयो ।
वडा नम्बर १ स्थित अतिथि सदन सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले भारतबाट विषादी अत्याधिक भएका तरकारी
आयात हुने र त्यस प्रकारका तरकारीले स्वास्थ्यमा गम्भिर असर पर्ने बताउनु भयो । स्वास्थ्यको लागि स्थानीय उत्पादनमा ध्यानदिन आग्रह गर्दै उहाँले नगरको यस अभियानलाई परिणाममुखी बनाउनु पर्नेमा जोड दिनुभयो ।
यस्तै वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले
तरकारी बिक्री केन्द्रलाई अझै अन्य स्थानमा पनि बढाएर लैजानु पर्ने बताउनु भयो । कार्यक्रम सुरु भएपछि उपभोक्ताको माग बढ्दै गएकोले प्रभावकारीतामा ध्यानदिनु पर्ने बताउनु भयो ।
अतिथि सदन सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालन समिति उपाध्यक्ष तिलरुपा श्रेष्ठको अध्यक्षतामा आज (बुधबार) आयोजित उद्घाटन कार्यक्रममा नगरकी आर्थिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य संगिता सिवा, कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, वडासचिब टिका अधिकारी लगायतले धारणा राख्नु भएको थियो ।
बिर्तामोड नगरपालिकामा १ सय १७ जना व्यवसायिक तरकारी उत्पादक किसान छन् । स्वास्थ्यका दृष्टिकोणले ३५ प्रतिशतसम्म विषादी भएका तरकारी खान योग्य मानेपनि नगरपालिकाले सुरु गरेको सामुदायिक तरकारी केन्द्रमा १५ प्रतिशत भन्दा बढी बिषादी भएका तरकारी विक्री वितरण नगरीने दाबी छ ।