आइतवार, भदौ ३०, २०८१
NayaPaper | अनलाइन पत्रिका

मेची सहकारीले अन्य सहकारीहरुले जस्तो जटिल समस्या भोग्नुपरेन : अध्यक्ष भट्टराई

सोमवार, साउन २८, २०८१

झापा, २८ साउन : मेची बहुउद्देश्यीय सहकारी संस्था दमकले संस्थाको २८ औं वार्षिकोत्सव तथा ३० औं साधारणसभा सुरु गरेको छ ।
इकाइगत तथा सेवा केन्द्र स्तरमा हुने साधारणसभा आज (सोमबार) दमकमा सञ्चालन भएको छ ।साधारणसभाको भदौं १२ गते माइन्यूट प्रमाणिकरण हुने जनाइएको छ ।
संस्थाले केन्द्रीय कार्यालय दमकमा पत्रकार सम्मेलन गर्दै वार्षिक प्रतिवेदन–२०८१ सार्वजनिक गरेको छ।कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले आगामी नीति तथा कार्यक्रम र प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले संस्थाको वित्तीय अवस्था बारे जानकारी गराउनु भयो ।

संस्थाका अध्यक्ष भट्टराईले नीति कार्यक्रम प्रस्तुत गर्दै सहकारीहरुको क्षेत्रमा वितेको वर्ष सुखद् नभएको बताउनुभयो । उहाँले संस्था र सदस्यहरुकै लागि असहज परिस्थितिहरु आएको जानकारी गराउनुभयो । तर, मेची सहकारीले भने अन्य सहकारीहरु जस्तो जटिल समस्याहरु भोग्न नपरेको उल्लेख गर्नुभयो । उहाँले मेची बहुउद्देश्यीय सहकारीले सञ्चालक र कर्मचारीहरुले ठुलो कर्जा नलिएका कारण समस्यामा नपरेको जानकारी गराउनुभयो ।
मुल्याङ्कन बढाएर कर्जा समेत लगानी नगरेको बताउँदै अध्यक्ष भट्टराईले सदस्य शिक्षा र कारोवारको सुरक्षाका कारण मेची बहुउद्देश्यीय सहकारी पृथक भएको धारणा राख्नुभयो ।२०५४ सालमा स्थापना भएको सहकारीले खानेपानी उद्योग सञ्चालनदेखि मेची आवास निर्माण योजनालाई अघि बढाउने तयारी गरेको बताइएको छ । अध्यक्ष भट्टराईका अनुसार चक्लाबन्दी मार्फत फलफूल खेती गर्दै जाने योजना छ । कर्मचारीको १० प्रतिशत तलव वृद्धि गरेको सहकारीले सदस्यहरुलाई साढे १० प्रतिशत लाभांश दिने जनाएको छ ।

१६ हजार ३ सय ४८ सदस्य संख्या रहेको सहकारीले १० वटा सेवाकेन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बगालेले ४ हजार ४० जना कुल ऋणी रहेको जानकारी दिनुभयो । उहाँले ३ अर्व ६ करोड ७१ लाख बचत, ३ अर्व २९ करोड कर्जा लगानी, ३ अर्व ८७ करोड रुपैयाँको वासलात रहेको बताउनुभयो ।

सम्बन्धित खबर