आइतवार, मंसिर ९, २०८१
Nayapaper | अनलाइन पत्रिका

बिर्तामोडमा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माण सुरु, नगरप्रमुखद्वारा शिलान्यास

बिहिवार, साउन ३१, २०८१

बिर्तामोड, ३१ साउन : बिर्तामोड‌मा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ। हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६,७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको हो ।
वडा नम्बर ६ को देउनिया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टासम्मको ९ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको कोषले जनाएको छ ।तारबार निर्माण कार्यको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिहीबार (आज) शिलान्यास गर्नु भयो ।शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने बताउनु भयो । उहाँले बढ्दो मानविय क्षति कम गर्नका लागि विद्युतिय तारबार फलदायी हुने अपेक्षा राखेको भन्दै हात्तीका लागि मनपर्ने आहारा व्यवस्थापन गर्न पनि स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समिति लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले
मानववस्तीमा हात्ती छिरेर असर गर्दै आएको लामो समयदेखिको बाध्यतालाई यसले अन्त्य गर्ने बताउनु भयो । उहाँले यति प्रयाप्त नभएपनि आगामी दिनमा थप व्यवस्थित गर्दै लैजानु पर्ने बताउनु भयो ।यस्तै कार्यक्रममा बोल्दै राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेलले हात्ती नियन्त्रणका लागि तारबार प्रभावकारी हुने भएकोले सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

यस्तै हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगत कुमार राईले विद्युतीय तारबार निर्माण पछि स्थानीयको बालीनालीमा यस अघि हुने गरेको क्षति कम हुने विश्वास व्यक्त गर्नुभयो ।

१ करोड ३२ लाख ३६ हजार ५ सय २० रुपैयाँको लागतमा तारबार निर्माण हुन लागेको हो । यसको ठेक्का फुङ्फुङ्गे शैलेश्वरी निर्माण सेवाले लिएको छ । ठेक्का सम्झौता अनुसार २०८१ कात्तिक २९ गतेसम्ममा योजना सम्पन्न गर्नु पर्ने छ ।संरक्षण कोषका कोशी प्रदेश प्रमुख विरेन्द्र गौतमका अनुसार सुरुमा बाहुनडाँगीको १८ किलोमिटर क्षेत्रमा विद्युतिय तारबार निर्माण गरीएको थियो । उहाँले अहिलेसम्म झापाको जलथल र चाराआलीमा क्षेत्रसमेत गरी ७६ किलोमिटर क्षेत्रमा विद्युतिय तारबार भईसकेको जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष सुर्यप्रसाद कन्दङ्वा, वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ७ का वडाअध्यक्ष कृष्ण प्रसाद खरेल ( अबिरल), नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराई, नेकपा माओबादी केन्द्र बिर्तामोड अध्यक्ष मोहन सुव्वा, सुन्दर निचाझोडा सामुदायिक बनका अध्यक्ष बद्री प्याकुरेललगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित खबर