सोमवार, भदौ ३१, २०८१
NayaPaper | अनलाइन पत्रिका

कोशीमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता

बुधवार, भदौ १९, २०८१

झापा, १९ भदौः कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई रु पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय बिरामीले उक्त सहायता लिएका छन् ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सहायताका लागि दुई हजार सात सय जना विरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।

जसमध्ये बजेट अभावमा क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी र सिकलसेन एनिमियालगायतका पाँच सय जना विरामीलाई रु एक लाखका दरले आर्थिक सहायता वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

“निवेदन धेरै परेको थियो, बजेट थोरै थियो”, उहाँले भन्नुभयो, “सुरुमा निवेदन दिनेले पाउनुभयो, अझै दुई हजार दुई सय निवेदकले सहयोग रकम पाउन बाँकी छ ।” सरकारले चालू आवमा रु पाँच करोड नै बजेट बिनियोजन गरेको छ ।

कडा रोगीहरुका लागि विनियोजन गरेको रकम वितरणका लागि प्रदेश सरकारले नयाँ कार्यविधि पारित गरेको छ । जसका कारण पुराना निवेदकले नयाँ कार्यविधिबाट सहयोग पाउन सम्भव नरहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारको नयाँ कार्यविधि अनुसार विरामीले अबदेखि मन्त्रालयबाट होइन, अस्पतालबाटै उपचारको रकम शोधभर्ना पाउने व्यवस्था छ । नयाँ कार्यविधि समेत कार्यान्वयनमा आउन सकेको छैन ।

“नयाँ कार्यविधि बन्यो, कार्यान्वयन हुन बाँकी छ । पुरानो निस्क्रिय भइसक्यो”, उहाँले भन्नुभयो, “निवेदन लिएका पुराना सेवाग्राहीले मन्त्रालयमा फोन गरेर सोधिरहनु भएको छ । उहाँहरुलाई रकम दिन अब प्रदेश सरकारले कार्यविधि परिमार्जन गर्न छलफल सुरु गरेको छ ।”

उहाँले वि.सं. २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिनुभयो । प्रदेशमा कडा रोग लागेका विरामीलाई पहिलोपल्ट आव २०७९/८० को असारमा सात जनालाई सहयोग वितरण गरिएको थियो ।

सम्बन्धित खबर