शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

‘सिरियल किलर’ शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन सर्वाेच्चकाे आदेश

बुधवार, पौष ६, २०७९

काठमाण्डाै  । हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका फ्रान्सका 'सिरियल किलर' चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आज बुधवार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आज (बुधवार) नै कैदबाट मुक्त गर्न आदेश दिएको हो । उनलाई १५ दिनभित्र आफ्नो देश फर्काउनसमेत आदेश दिइएको छ । ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा शोभराजले पनि पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । इजलासले आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत आदेश दिएको छ । आदालतको आदेशमा ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा दिएर छोड्न भनिएको छ । शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागलगायतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । यस व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो । उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ । १९ वर्ष कैद सजाय भोगिसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानुन प्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र उनको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावासविरुद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ । शोभराजलाई सन् २००३ मा कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरी जिल्ला अदालत भक्तपुरले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
सम्बन्धित खबर