बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

ज्ञानुराम प्रसाईं स्मृति प्रतिष्ठानको रक्तदान कार्यक्रम, १०१ जनाद्वारा रक्तदान

मङ्गलवार, भदौ २५, २०८१

बिर्तामोड, २५ भदौ : ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले आज (मंगलबार) झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । झापामा रगतको अभाव भइरहेका बेला प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

बिर्तामोडका सामाजिक एवम् राजनीतिक व्यक्तित्व ज्ञानुराम प्रसाईको योगदानलाई चिरस्थायी बनाउँदै सामाजिक कार्य गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना भएको थियो । प्रतिष्ठानमार्फत यसअघि अदुवा खोला करिडोरमा वृक्षारोपण गरिएको छ ।

दोस्रो सामाजिक कार्यक्रम अन्तर्गत प्रतिष्ठानले रक्तदान गरेको अध्यक्ष बद्रीप्रसाद भट्टराईले बताउनु भयो ।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख एवम् प्रतिष्ठानकी संरक्षक पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीसहित १०१ जनाले रक्तदान गरेका छन् ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले प्रतिष्ठानमार्फत विभिन्न सेवामूलक सामाजिक अभियानहरू सञ्चालन गरिने बताउँदै सदस्य विस्तार अभियानलाई तीव्र बनाइने बताउनु भयो।

प्रतिष्ठानका सचिव सुब्रत न्यौपानेका अनुसार इच्छुक सबै महानुभावलाई प्रतिष्ठानले सदस्यता दिइरहेको छ । यसअघि बसेको प्रतिष्ठानको बैठकले इच्छुकहरुलाई सदस्यता दिने निर्णय गरेको थियो ।

कार्यक्रममा नेकपा एमाले लेखा आयोग सदस्य जसमाया गजमेर र एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य ज्ञानेन्द्र प्रकाश ओलीले शुभकामना मन्तव्य राख्नु भएको थियो । सहभागीलाई प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्वागत गर्नु भयो। नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा सहभागी रक्तदातालाई प्रमाणपत्र वितरण गरिएको प्रतिष्ठानका सहसचिव टीकाराम प्रसाईले बताउनु भयो ।

सम्बन्धित खबर