बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

अर्जुनधारामा पुजाको प्रसाद खाँदा विरामी हुनेको संख्या ८४ पुग्यो, सबै बिरामीको उपचार निशुल्क

बिहिवार, भदौ २७, २०८१

झापा, २७ भदौ : झापाको अर्जुनधारामा पुजाको प्रसाद खाँदा विरामी हुनेहरुको संख्या ८४ पुगेको छ ।

डिस्चार्ज भएकाहरु पुनः भर्ना भएका छन् भने नयाँ विरामी पनि थपिएका छन् । शनिश्चरे आधारभूत अस्पतालबाट ३९ जनालाई प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ । त्यसबाहेक ३८ जनाको शनिश्चरे अस्पतालमै उपचार भइरहेको छ । त्यस्तै बीएण्डसी अस्पतालमा चार र मनमोहन अस्पतालमा तीनजनाको उपचार भइरहेको थियो । नगरपालिकाले उपचार खर्च बेहोर्ने भएपछि बीएण्डसीका विरामीहरु उपचारका लागि शनिश्चरे अस्पताल पुगेका छन् ।

शनिश्चरे अस्पतालमा विरामीहरुलाई नगरपालिकाले निःशुल्क उपचार गराइरहेको नगरप्रमुख बलदेवसिंह गोम्देनले बताउनु भयो । उहाँले त्यहाँ लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने जानकारी दिनुभयो ।त्यस्तै बीएण्डसीमा उपचार गराएका एकजना विरामीको उपचार खर्च २५ हजार रुपैयाँ आफूले बेहोरेको बताउनु भयो ।

स्वास्थ्यमा पुनः समस्या देखिएपछि डिस्चार्ज भएकाहरू फेरि अस्पताल भर्नासँगै बिहीबार नयाँ बिरामीहरू पनि थपिएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिनुभयो ।

६ वर्षका बालबालिकादेखि ७७ वर्षसम्मका वृद्धवृद्धालाई फुडपोइजन भएको जनाइएको छ । बिरामीहरूमा १०४ डिग्रीसम्म ज्वरो आउने, बान्ता हुने, पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखा परेको छ ।

१५ शैयाको शनिश्चरे अस्पतालमा जनशक्ति तथा पूर्वाधार अभाव भएका कारण १० वर्षमुनिका र ७० वर्षभन्दा माथिका ३९ जना बिरामीलाई मेची प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएको छ ।

यसैबीच ती विरामीमध्ये २५ जना व्यक्तिको दिसा परीक्षण गर्दा १० जनामा इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु फेला परेको छ । शनिश्चरे अस्पतालले गरेको दिसा परीक्षणबाट किटाणु फेला परेको स्वास्थ्य शाखा प्रमुख चिमरियाले जानकारी दिनुभयो।

यस्तै, थप १५ जना विरामीको दिसाको कल्चर जाँच गर्न प्रादेशिक अस्पताल भद्रपुर पठाइएको चिमरियाको भनाई छ । उहाँका अनुसार इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु काँचो कचिलो खानेकुरा र पानीको कारण देखा पर्ने गरेको छ ।

विरामीहरु अर्जुनधारा ९ स्थित रिता निरौलाको घरमा पुजाको प्रसाद खाएपछि विरामी भएका थिए ।दिउँसो १२ बजे खानेहरुलाई खासै समस्या नभएको र २ बजेपछि प्रसाद खानेहरु ९९ प्रतिशत विरामी भएको बताइएको छ ।
विरामीहरुलाई २४ घण्टासम्म उपचार नगरी फिर्ता पठाउन नमिल्ने अस्पतालले जनाएको छ । विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न नगरप्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी,स्वास्थ्य कार्यालयको टोली अस्पताल पुगेको थियो ।

 

सम्बन्धित खबर