बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई पुरस्कार प्रदान

शुक्रवार, भदौ २८, २०८१

काठमाडौँ, २८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गर्नुभएको छ ।

मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई रु ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताउनुभयो । उहाँले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताउनु भयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । मन्त्री चौधरीले पलेशाको उच्च शिक्षाको अध्ययन र आगामी एसियाली खेलकुदमा सहभागिताका लागि समन्वय गर्ने विषयमा मन्त्रालयले पहल गर्ने बताउनुभयो ।

सम्बन्धित खबर