बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

पत्रकार महासंघ झापाद्वारा स्व. पत्रकार पाठक परिवारलाई एक लाख सहयोग

शुक्रवार, भदौ २८, २०८१

बिर्तामोड, २८ भदौ : नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बिर्तामोडस्थित महासंघको कार्यालयमा आज शुक्रबार आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्व. पाठककी श्रीमती सीता र बुहारी हिमालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट उक्त रकम सहयोग प्रदान गरिएको हो ।कार्यक्रममा महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य र भीम नेम्वाङले झापाली पत्रकारितामा स्वर्गीय पाठकको योगदानको चर्चा गर्दै पत्रकारका परिवारमा महासंघले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो ।
स्व. पाठक महासंघ झापाका पूर्व सचिव तथा प्रेस चौतारी भापाका संस्थापक अध्यक्ष हो ।

महासंघ झापाले पत्रकार सहारा उपचार कोषको कार्यविधिमै महासंघका सदस्यको मृत्यु भएमा परिवारलाई अधिकतम् एकलाख रुपैयाँसम्म प्रदान गर्ने यसैवर्षबाट व्यवस्था गरेको छ । गत अधिवेशनबाट पारित कार्यविधि अनुसार सदस्यको मृत्यु पश्चात पहिलोपटक महासंघले उक्त रकम प्रदान गरेको महासंघका कोषाध्यक्ष तथा कोषका सदस्य सचिव रञ्जित प्रसाईले जानकारी दिनुभयो ।

त्यस्तै यसै साता महासंघ झापाका सदस्यहरु तीन जना पत्रकार महिलालाई सुत्केरी वापत जनही २५ हजार रुपैयाँका दरले सुविधा रकम प्रदान गरेको छ ।
पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा हाल एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ । ०८१ वैशाख ३ गते कोषमा उक्त रकमको घोषणासहित दाताहरुलाई सम्मान गरिएको थियो ।
कोषको ब्याजबाट पत्रकारहरुको सामाजिक सुरक्षामा सहयोग प्रदान गरिँदै आएको छ । पत्रकार सहारा उपचार कोष मार्फत महिला पत्रकार सुत्केरी हुँदादेखि महासंघका सदस्यको मृत्युपश्चातसम्म परिवारजनलाई सहयोग पुर्याउने कार्यले श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान हुँदै आएको कार्यक्रमका सहभागीले चर्चा गरेका थिए ।

सम्बन्धित खबर