बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

विद्यालयको छाना कमजोर हालेपछि अख्तियारमा उजुरी

बुधवार, पौष ६, २०७९

बाग्लुङ । भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले विद्यालयको छानामा कमजोर सामग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । बाग्लुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा छाना छाउने क्रममा कमजोर गुणस्तरको सामग्री प्रयोग भएको तथ्य विद्यालय व्यवस्थापन समिति र सरोकारवाला सङ्घ–संस्थाले गरेको अनुगमनबाट पत्ता लागेको बताइएको छ । यसपछि याे संस्था र स्थानीयवासीले अख्तियारमा उजुरी गरेका हुन् । भवन निर्माणमा लगानी गरेको संस्थाका प्रमुख मतिलाल चपाई र निर्माण सामग्री सप्लायर्स गर्ने लुम्बिनी इन्जिनियरिङ वर्कसपविरुद्ध उजुरी गरिएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय उपभोक्ता मञ्च बाग्लुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उजुरी दर्ता गर्दा श्रेष्ठले छानामा परेको प्वाल, त्यससम्बन्धी सञ्चारमाध्यममा प्रकाशित समाचार कपी र अन्य कागजातसमेत संलग्न गर्नुभएको छ । गएकाे साउनमा यस विद्यालयमा भ्वाङ परेको समाचार प्रकाशित थियो । यो भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शिक्षा शाखाले बनाएको हो । यो भवनमा यूपीभीसी जस्तापाताले छाना छाइएको छ । छानामा प्वालैप्वाल परेकाले विद्यार्थी राखेर पढाउनसमेत नसकी वर्षामा बालबालिकालाई एकै ठाउँमा दुई/दुई वटा कक्षा सञ्चालन गर्नुपरेको थियो । सप्लायर्स कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेको आरोप लगाइएको छ । उजुरीमा शिक्षा शाखाका तत्कालीन प्रमुख मतिलाल चपाई र सप्लायर्स कम्पनी लुम्बिनी इन्जिनियरिङ वर्कसपलाई दोषी बनाइएको हो । विद्यालय व्यवस्थापन समितिलाई दबाबमा पारेर आयोजना र कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेका थिए । विद्यालयको दुई कोठे भवनको छानामा गुणस्तरहीन जस्तापाता प्रयोग गर्दा सयौँ भ्वाङ परेको थियो । विद्यालयको छानामा सयौँ प्वाल परेको अनुगमनबाट पनि पुष्टि भएको बाग्लुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । विद्यालयमा बिजोग भएको देखेपछि मर्मतका लागि नगरपालिकाले सहयोग गर्ने तयारी भएको सापकोटाले जानकारी दिनुभयो । असिना पर्दा गएकाे वर्षको चैत–वैशाखमा यो विद्यालयमा भ्वाङ परेको वडाध्यक्ष मेघनाथ गैरेले बताउनुभयो । पानी पर्दासमेत ती भ्वाङ थपिँदै गएको स्थानीयवासीले बताएका छन् । भवनमा प्वाल परेपछि वडाध्यक्ष गैरेले विद्यालयको अवस्था अनुगमन गरेर पुनर्निर्माण गर्न नगरपालिकामा बजेट माग गरेको बताउनुभयो । पुनःर्निर्माण प्राधिकरणमार्फत जिल्लामा पुनर्निर्माण गरिएका विद्यालयको परियोजना हेर्ने शिक्षा शाखाका तत्कालीन प्रमुख मतिलाल चपाई र सब–इन्जिनियर नजाम उद्दिनले लुम्बिनी इन्जिनियरिङ वर्कसपबाट सामान ल्याउन दबाब दिएपछि गुणस्तरहीन सामान आएको थियो । त्यही दबाबकै कारण बाग्लुङका सप्लायर्सले सात लाख रुपैयाँमा सामान विद्यालयमै लगिदिने भन्दाभन्दै विद्यालयले बुटवलमा रहेकाे लुम्बिनी इन्जिनियरिङ वर्कसपबाट १० लाख ५० हजार रुपैयाँमा सामान ल्याउन बाध्य बनाएको उजुरीमा उल्लेख छ । विद्यालयकी प्रअ सरिता गौतमले पनि दबाबका कारण उनीहरूले भनेको सप्लायर्सबाट सामान ल्याउन बाध्य भएको बताउनुभएको छ ।
सम्बन्धित खबर