बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड

बिहिवार, पौष ७, २०७९

काठमाण्डाै । संसदीय दलको नेता चयनसँगै दलहरु नयाँ सरकार गठनको छलफलमा फेरि जुटेका छन् । धेरैजसो दलमा संसदीय दलका नेता सर्वसम्मत भएका छन् भने नेपाली कांग्रेसमा चुनावमार्फत् चयन गरिएको छ ।

सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज दलका नेतामा चुन्दै छ । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाएको छ । दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित छ ।

प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् । दलका नेताको टुङ्गो लागि सकेकाले प्रधानमन्त्री र राष्ट्रपति पदका लागि दलहरुको दौडधुप बढेको छ । तर सत्ता गठबन्धन भित्रै शक्ति बाँडफाँटमा रस्साकस्सी देखिएको छ । सबैभन्दा ठूलो दल बनेको कांग्रेसले यी दुई पद आफैँसँग राख्ने तयारी गरेको छ । तर, माओवादीको पनि दाबी छ । यसले गर्दा कुरा मिल्न सकेको छैन ।

माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गरेलगत्तै भावी सरकार निर्माणबारे थप छलफल अगाडि बढाउने जनाएको छ । पर्ख र हेरको नीति अपनाएको एमालेले भने सत्ता गठबन्धन नभत्किएसम्म कसैसँग सहकार्य नगर्ने अडान लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आउँदो आइतवार १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिसक्नुभएको छ ।

सम्बन्धित खबर