शुक्रवार, कार्तिक २, २०८१
NayaPaper | अनलाइन पत्रिका

मनमोहन अस्पताल बिर्तामोडमा सिटी स्क्यान सेवा सुरु

मङ्गलवार, असोज १५, २०८१

झापा, १५ असोज : बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ।
स्थापना भएको लामो समयपछि मनमोहन अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको हो।

बिरामीको रोग पत्ता लगाउन निकै महत्वपूर्ण मानिएको सिटी स्क्यान उपकरण जडान भएपछि बिरामीको उपचार अझ प्रभावकारी ढंगबाट गरिने अस्पतालमा कार्यरत चिकित्सकहरूले बताएका छन्।
अस्पतालमा सिटी स्क्यान जडानपश्चात जटिल किसिमका रोगहरूको पहिचान गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा स्त्री तथा प्रसूती रोगका वरिष्ठ विशेषज्ञ डा. एकराज गौतमले बताउनु भयो।

मनमोहन मेमोरियल अस्पतालमा जडान गरिएको सिटी स्क्यान मेसिन अत्याधुनिक भएको बताइन्छ। क्यानोन कम्पनीको उक्त मेसिनले अन्य मेसिन भन्दा स्पष्टसंग शरीरका भित्री अंगहरूका आकृति खिच्ने बताइन्छ। सोही उपकरण अस्पतालमा जडान गरेर सेवा प्रदान गर्न सुरु गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष नरेश खरेलले बताउनु भयो ।

केही गम्भीर रोगहरूमा चिकित्सकले शरीरको कुनै निश्चित भागको विस्तृत जानकारीको लिनका लागि सिटी स्क्यान गर्न सिफारिस गर्छन्। अब सोही सेवाका लागि बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता हटेको मनमोहन अस्पतालका चिकित्सकहरूले बताएका छन्।

सम्बन्धित खबर