बिहिवार, मंसिर ६, २०८१
Nayapaper | अनलाइन पत्रिका

अनैतिक सम्बन्धका कारण राजेश हजामको हत्या, यस्तो छ घटनाक्रम

मङ्गलवार, असोज २२, २०८१

झापा, २२ असोज : बाह्रदशी गाउँपालिका ७ की २० वर्षीया मुना मेचे (राजवंशी) सँगको अनैतिक सम्बन्धका कारण २२ वर्षीय राजेश हजामको हत्या भएको खुलेको छ । श्रीमान् अभय राजवंशी वैदेशिक रोजगारीका लागि साउदी अरब गएपछि मुना पाँच वर्षका सन्तानसहित घरमा एक्लै बस्दै आएकी थिइन् ।

मध्यरात राजेश मुनाको घर गएपछि सो घटना भएको देखिन्छ । राजेश गत जेठ १५ गते राति करिब ११.३० बजे मुनाको घरमा गएका थिए । बाह्रदशी ५ फूलबारी घर भएका राजेश करिब ३ किलोमिटर उत्तर मध्यरातमा सिमलवारीस्थित मुनाकहाँ गएको खुलेको छ ।

यसअघि सम्बन्ध बनेर बिग्रिसकेको अवस्थामा राजेश मुनाको घरमा गएपछि उनले आफ्ना देवर गणेश राजवंशीलाई आफ्नो घरमा चोर पसेको भन्दै खबर गरेकी थिइन् । मुनाको भन्दा अलिक टाढा घर भएका गणेश मुनाको घरमा आइसकेर दुवैले राजेशलाई डोरीले बाँधेका थिए । एक प्रहरी अधिकारीका अनुसार त्यति बेलै आइपुगेका मुनाका भतिज १६ वर्षीय नरेश राजवंशीले आफूले प्रहरी बोलाएर राजेशलाई जिम्मा दिन सल्लाह दिएको कुरा बयानमा बताएका छन् । तर,आवेशमा आएर उनीहरूले राजेशको हत्या गरे । मुनाले बिहे गर्नुभन्दा अगाडिदेखि राजेशसँग सम्बन्ध रहेको बताइन्छ । अभय राजवंशीसँगको भागी बिहेपछि त्यो सम्बन्ध टुटेको थियो । श्रीमान् अभय विदेश गइसकेपछि अविवाहित देवर गणेश राजवंशीसँग उनको सम्बन्ध सुरुवात भएको अवस्थामा राजेशले पुनः इन्ट्री गर्न खोज्दा सो घटना भएको ती प्रहरी अधिकारी बताउँछन् । यद्यपि घटनाबारे अझै विस्तृत अनुसन्धान भइरहेको छ ।

गणेश पक्राउ परेपछि मात्र सबै कुरा खुल् नसक्ने ती प्रहरी अधिकारीले बताए । प्रहरीले मुना ,मुनाका जेठाजु ३१ वर्षीय समीर राजवंशी, मुनाका भतिज १६ वर्षीय नरेश राजवंशी र सोही ठाउँ बस्ने २१ वर्षीय आशिष् थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । आशिष् गणेशका साथी हुन् । उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ । दुबईमा रहेका गणेशलाई पनि झिकाउने पहल भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनु भयो ।

करिब चार महिनाअघि हत्या गरी गाडेको अवस्थामा राजेशको शव आइतबार साँझ बिरिङको बगरमा भेटिएको थियो । गन्हाएको अवस्थामा उनको शव बिरिङ खोलाको बगरबाट उत्खनन गरी निकालिएको डीएसपी विष्टले बताए । खोलाको पश्चिम किनारमा गाडिएको अवस्थामा टाउकोको हड्डी, खुट्टाको नली हड्डी, शरीरको अस्थिपञ्जर मात्र बाँकी रहेको सडिगलेको अवस्थामा शव फेला परेको थियो ।

मृतकको कङ्काल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर