बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

भद्रपुर झापा गोल्ड कप फागुन अन्तिम साता देखि हुने

बिहिवार, पौष ७, २०७९

भद्रपुर, पुस ७ ।  भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका लागि मेची रंगशालाको स्तरोन्नति सुरु भइसकेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । अत्यन्त जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी सो रंगशालामा झार रोप्ने र माटोको लेभल मिलाउने काम भइरहेको छ ।

झापा फुटबलको उर्वर भूमि हो भने सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो हो । जिल्लाको सबैभन्दा पुरानो र व्यवस्थित मेची रंगशाला देशका चर्चित र सफल खेलाडीहरुको प्रारम्भिक खेल मैदान हो । १८ वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरु आयोजना हुन नसक्दा मेची रंगशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थति गर्न सकिएको थिएन ।

‘यो प्रतियोगिता झापाको प्रतिष्ठित ‘झापा गोल्डकप’कै निरन्तरताको एउटा कडी भएको पनि जानकारी गराउन चाहन्छौँ’, अध्यक्ष ढकालले भने । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुँदै आएको ‘झापा गोल्डकप’लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको हो । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरुसहित विदेशी टोलीको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष तथा टिम व्यवस्थापन तथा छनोट उपसमिति संयोजक आदित्य पराजुलीले जानकारी दिए । प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । खेल सञ्चालनका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए । कुल १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बाँकी रकम व्यापारिक प्रतिष्ठनबाट स्पोन्सरका रुपमा संकलन गरिने सहकोषाध्यक्ष अजय साहेवालाले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फवार्ड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई नगद १० हजार पुरस्कारको प्रदान गरिनेछ ।

यसैबीच, प्रतियोगिताका सबै खेलमा विशेष परिस्थितिका नागरिकलाई प्रवेश निःशुल्क गरिने भएको अध्यक्ष ढकालले बताए । ढकालका अनुसार भद्रपुर नगरभित्रका सरकारी विद्यालयका विद्यार्थीलाई खेल हेर्न टिकट लाग्ने छैन । त्यस्तै, नगरभित्रका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई पनि प्रवेश निःशुल्क गरिएको ढकालले जानकारी दिए ।

सम्बन्धित खबर