मङ्गलवार, कार्तिक ६, २०८१
Nayapaper | अनलाइन पत्रिका

रोलिङ च्यालेञ्ज कप: पुलिस क्लबलाई हराउँदै इलामको रेड हर्स सेमिफाइनलमा

मङ्गलवार, कार्तिक ६, २०८१

झापा, ६ कात्तिक : इलामको रेड हर्स फुटबल क्लब झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेञ्ज कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

रेड हर्सले आज भएको प्रतिस्पर्धामा कोसी पुलिस क्लबमाथि जीत निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो । टाइब्रेकरमा नतिजा उल्टाउँदै रेड हर्सले पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पूर्वनिर्धारित समयको सङ्घर्षपूर्ण खेलमा दुवै टोलीबीच १–१ गोलको बराबरी भएको थियो । खेलको २०औँ मिनेटमा कोसी पुलिस क्लबका रमेश राजवंशीले पहिलो गोल गर्दै अग्रता दिलाउनुभएको थियो भने खेलको ७५ औँ मिनेटमा रेड हर्सका प्रदीप बुढाथोकीले गोल फर्काएर बराबरीमा ल्याउनुभएको थियो । रेड हर्सका गोलरक्षक विवेक मगर खेलको प्लेयर अफ द म्याच घोषित हुनुभयो । उहाँले नगद रु पाँच हजार र ट्रफी प्राप्त गर्नुभयो ।

बुधबार फाइनल प्रवेशका लागि आयोजक रोलिङ क्लब धुलाबारी र विराटनगरको सम्राट स्पोर्टिङ क्लबबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक समितिका सचिव महेश खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद रु तीन लाख र उपविजेताले नगद रु एक लाख ५० हजार, ट्रफी र मेडल पाउनेछन् । प्रतियोगितामा नेपाल र भारतका आठ टोली सहभागी छन् ।

सम्बन्धित खबर