बुधवार, कार्तिक ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

पाँच घण्टादेखि तनावपूर्ण केरखा

बुधवार, कार्तिक ७, २०८१

बिर्तामोड, ७ कात्तिक : झापाको केरखा आज साँझ भएको दुर्घटनापछि सो क्षेत्र तनावपूर्ण छ । बसको ठक्करबाट एक बालिकासहित दुई जनाको घटनास्थलमा मृत्यू भएपछि स्थानीय आन्दोलित छन् ।
५ घण्टादेखि तनावपूर्ण बनेको केरखामा प्रहरी बिटमा आगजनी गरिएको छ भने चौकीमा ढुङ्गामुढा भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटना भएपछि केरखा क्षेत्रमा पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा बन्द गरिएको छ । कुनै पनि सवारी साधनहरु चल्न पाएका छैनन् । शव पनि सडकमै राखिएको छ । केही साना सवारीहरुलाई शाखा सडक मार्फत गन्तव्य तर्फ जाने व्यवस्था मिलाइएको छ ।

सवारी दुर्घटनामा परी ज्यान गुमाउनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनको ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा ट्राफिकका अनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना लगत्तै प्रहरी चौकी केरखाले बस चालक विशाल ठटाललाई तत्कालै नियन्त्रणमा लिएको थियो ।
मृतक बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए । बर्थडे केक र मासु लिएर फर्कँदै गर्दा रात्रि बसले उनीहरूलाई ठक्कर दिएको थियो ।
आक्रोसित पक्षले प्रहरीमाथि ढुङ्गामुढा गर्दै चौकीमा आक्रमणको प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । केही प्रहरी घाइते समेत भएका छन् ।

सम्बन्धित खबर