बुधवार, कार्तिक ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

रोलिङ च्यालेञ्ज कप : आयोजक रोलिङ क्लब फाइनलमा प्रवेश

बुधवार, कार्तिक ७, २०८१

झापा, ७ कात्तिक : आयोजक रोलिङ क्लब झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेञ्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा मोरङको सम्राट स्पोर्टिङ क्लबलाई रोलिङ क्लवले ३–१ को गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

खेलको १५औँ मिनेटमा रोलिङ क्लबका रोहन कार्कीले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । ३२ औँ मिनेटमा सम्राट स्पोर्टिङले पाएको पेनाल्टीलाई दोर्जे तामाङले सदुपयोग गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए ।

रोलिङ क्लबका गोल रक्षक अभिषेक बरालले विपक्षी खेलाडीलाई पेनाल्टी एरियामा फाउल गरेपछि सम्राटले पेनाल्टी सुटको अवसर प्राप्त गरेको थियो । खेलको ३६औँ मिनेटमा आयोजक टोलीका अभिशेक गुरुङले गोल गर्दै दोस्रो गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ५९औँ मिनेटमा आयोजक रोलिङले पाएको पेनाल्टीलाई उत्सव राईले जाली चुमाउँदै खेललाई ३–१ को अग्रता दिलाएका थिए । पेनाल्टी एरियामा सम्राटका अशोक खवासले उत्सवलाई फाउल गरेपछि पेनाल्टी प्राप्त गरेको थियो ।
खेलको प्लेयर अफ द म्याच रोलिङका प्रकाश लक्सम घोषित हुनुभएको थियो । उहाँलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको थियो ।

बिहीबार अन्तिम समिफाइनल खेल पाहुना टोली मानेभन्ज्याङ फुटबल क्लब दार्जीलिङ (भारत) र रेड हर्स इलामबीच हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद रु तीन लाख र उपविजेताले नगद रु एक लाख ५० हजार, ट्रफी र मेडल पाउने अध्यक्ष नोबेम्बर नेम्वाङले बताए ।

सम्बन्धित खबर