शुक्रवार, मंसिर २८, २०८१
Nayapaper | अनलाइन पत्रिका

बिर्तामोडमा हाल साविकपछि जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण

शुक्रवार, मंसिर ७, २०८१

बिर्तामोड, ७ मंसिर :  झापाको बिर्तामोडस्थित २ नं. नापी टोलीले हाल साविकपछि जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण थालेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै जग्गाधनी पुर्जा वितरण थालेको हो ।

ज्येष्ठ नागरिकलाई जग्गाधनी पुर्जा प्रदान गर्दै २ नं. टोलीले वितरण सुरु गरेको हो । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ज्येष्ठ नागरिकलाई जग्गाधनी पुर्जा प्रदान गर्दै वितरणको सुरुआत गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख महताराले जग्गा सीमाका वर्षौ पुराना समस्याहरु समाधान नहुँदा नागरिकले धेरै दुख भोग्नुपरेको बताइन् । उनले हालसाविकले सीमाका समस्याहरु समाधान भएर जाने विश्वास गरेको जानकारी दिएकी छन् । ‘जग्गा नाप नक्सा अनुसार नहुँदा नागरिकले धेरै कठिनाई भोग्नु परेको छ, आफ्नो घर नै अर्कै व्यक्तिको जग्गामा परेका घटनाहरु धेरै छन्, उनले भनिन्, – विभिन्न कठिनाईका बीच २ नं. नापी टोलीले हालसाविक गरेको छ , स्थानीय सरकारको तर्फबाट धन्यवाद दिन्छु ।

२०७२ सालबाट नाप नक्सासहित सुरु गरिएको काम ०७७ सालबाट दर्ता सुरु गरिएको थियो । साविकको चारपाने गाविस वडा नं. २–९ (हाल बिर्तामोड वडा नं. २) मा १६ सय ५३ धनीपुर्जा प्रमाणपत्र तयार गरेको २ नं. टोलीका टोली प्रमुख सरोज विश्वकर्माले जानकारी दिए । उनका अनुसार टोलीको कार्यक्षेत्रभित्र ३७ प्रतिशतको मात्र हाल साविक भएको छ ।
६३ प्रतिशत जग्गाधनी दर्ता प्रक्रियामा नआएको विश्वकर्माको भनाई छ । टोलीले हालसाविक गरेर वितरण गरेको धनीपुर्जा त्रुटि भएको खण्डमा तत्कालै सच्याउन प्रमुख विश्वकर्माले आग्रह गरेका छन् । उनले १२० दिनभित्र सच्याउने समय राखिएको जानकारी गराएका छन् ।

निर्धारित समयभित्र त्रुटि नसच्याएमा पछि समस्या हुने बताउँदै यस तर्फ ध्यान दिन आग्रह गरिएको छ ।
बिर्तामोड २ का वडाध्यक्ष किशोर पौड्यालले धग्गाधनीहरुलाई त्रुटि खोजेर सच्याउन आग्रह गरेका छन् । उनले आगामी दिनमा दुख नपाउनका लागि टोली यहि भएको बेला काम सक्नका लागि सूझाव दिएका छन् । उनले ०२१ सालको नक्सा बमोजिम जमिनमा धेरै भिन्नता पाइने भन्दै उनले हाल साविकको कामपछि धेरै समस्याहरु समाधान भएर जाने बताए । वडाध्यक्ष पौडेलले खोलाले धार परिवर्तन गर्दा कयौं परिवार जमिन भएर पनि सुकुम्बासी बन्नु परेको जानकारी गराए । त्यस्ता परिवारहरुलाई न्याय दिनुपर्ने उनको माग छ ।

टोली प्रमुख विश्वकर्माको अध्यक्षतामा भएको धनीपुर्जा दर्ता प्रमाणपत्र वितरण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र संग्रौला, १ नं. वडाध्यक्ष अग्नीप्रसाद पाण्डे, नापी कार्यायल झापाका प्रमुख सुनिल आनन्द, विशेष नापी कार्यालय दमकका दिलिप सिंह लगायतले धारणा राखेका थिए । उनीहरुले हालसाविकको चुनौतिपूर्ण कामलाई सम्पन्न गरेकोमा धन्यवाद दिदैं आगामी दिनमा जग्गाधनीहरुले कुनै पनि हिसावले दुख पाउन नहुने बताएका थिए । जग्गाधनीहरुलाई पनि आफ्नो पुर्जामा भएको त्रुटि सच्याउन सूझाव दिएका छन् ।
कार्यक्रममको सञ्चालन नापी कार्यालय झापाका देवेन्द्र चापागाईले गरेका थिए ।

सम्बन्धित खबर