बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

प्रतिनिधि सभाका सभामुख घिमिरेको यस्तो छ राजनीतिक यात्रा

बिहिवार, माघ ५, २०७९

काठमाण्डाै । प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो । संसदमा दुई सय ६८ जना सांसद उपस्थित रहेकोमा एक सय ६७ जनाले घिमिरेको पक्षमा मतदान गरेका छन् । एक सय जनाले घिमिरेको विपक्ष अर्थात् नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहनुभएकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गरेका छन् भने एक जना तटस्थ बसेका छन् ।

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घिमिरेलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभयो । घिमिरेलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र स्वतन्त्र लगायतले समर्थन गरेका छन् । सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो । यस्तै उहाँको समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनुहुन्थ्यो ।

सभामुखका लागि नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उहाँको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहनुभएको थियो ।

सभामुखमा निर्वाचित घिमिरे झापा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ । २०१३ जेठ १३ मा ताप्लेजुङ सिकैचा ३ मा जन्मिनुभएका घिमिरेले स्नातक तहसम्म अध्ययन गर्नुभएको छ । घिमिरे यसअघि २०५६ सालमा राष्ट्रिय सभा सदस्य हुनुभएको थियो । अहिले अर्जुनधारा नगरपालिका वडा ६ मा बस्दै आउनुभएका घिमिरे २८ हजार ७ सय १६ मत ल्याउँदै झापा २ बाट निर्वाचित हुनुभएको हो ।  उहाँले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ६१ मतले पराजित गर्नुभएको हो । २०७५ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको प्रदेश एकको अध्यक्ष र २०७८ मा भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनपछि उहाँ एमालेको स्थायी कमिटी सदस्य हुनुभएको थियो । घिमिरेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा निकटमध्येका नेताको रूपमा चिनिन्छ । पञ्चायतकालमा १२ वर्ष भूमिगत राजनीति गर्दा घिमेरे पटक–पटक प्रहरी हिरासतमा रहनुभएकाे थियाे ।

सम्बन्धित खबर