बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा जंगली हात्तीले दुई वटा घर भत्कायो, करेण्ट लागेर एक जनाको मृत्यु

शनिवार, माघ २८, २०७९

२८ माघ,झापा ।  बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा शुक्रवार राती जंगली हात्तीले दुई वटा घर भत्काएको छ ।
जंगली हात्तीको समूहले रेखा चोकस्थित लुकु मर्डी र फुलमुनी हास्दाको घर भत्काएको हो । हात्तीले घरका टाटीबेराहरुमा पूर्ण रुपमा क्षति पुर्याएको छ । घरको टिभी, दराजसहित अन्य सामग्रीहरुमा समेत क्षति पुर्याएको र चामलका बोरा समेत हात्तीले लिएर गएको पीडित परिवारले जनाएका छन् ।
दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउने परिवारको चामल समेत हात्तिले खाइदिएपछी उनीहरुलाई समस्या भएकोले वडाध्यक्ष कृष्ण प्रसाद खरेल अविरल र स्थानियले तत्कालका लागि आर्थिक सहयोग गर्नु भएको छ । वडाध्यक्ष खरेलले बिर्तामोडको ७ मा दिनहुँ हात्तिले दुख दिने गरेको बताउनु भयो । शुक्रवार राती नै वडा नम्बर ७का एक जनाको हात्तिलाई रोक्न लगाईएको विद्युतिय तारमा करेण्ट लागेर ज्यान गएको छ । ज्यान गुमाउनेमा बाह्रघरेका ४९ वर्षीय खेम श्रेष्ठ रहेका छन् ।

विर्तामोड ७ का नागरिक हरेक दिन जंगली हात्तीको त्रासमा छन् । वडाध्यक्ष खरेलले हात्तीको समस्या समाधानका लागि पहल भईरहेको जानकारी दिनु भयो । उहाँले बिर्तामोड नगरपालिकाले हात्तिले पुर्याएको क्षतिको मुल्याङ्कन गरी आर्थिक सहयोग उपलव्ध गराउँदै आएको र यो समस्या समाधानका लागि प्रदेश र संघिय सरकारसंग पहल भईरहेको बताउनु भयो ।

झापाको मेचीनगर,वुद्वशान्ति,अर्जुनधारा,भद्रपुर,हल्दिबारी,शिवसत्ताक्षी,बिर्तामोड लगायतका क्षेत्रमा भारतबाट आउने र यहीँका रैथाने हात्तिले दिनहुँ उपद्रो मच्चाउँदै आएका छन् । हात्ति दिनभर जंगलमा बस्ने र साँझ परेपछि आहारको खोजीमा गाउँ पस्ने गरेकाकारण स्थानियले सास्ती व्यहोर्नु परेको छ ।

 

 

सम्बन्धित खबर