मेचीनगर, २४ पुस : झापाको काँकरभिट्टामा रहेको मेची मासु उत्पादक सहकारी संस्थाले एक वर्षमा मासु मात्र बेचेर ६४ लाख बढी आम्दानी गरेको छ ।
आज काँकरभिट्टा खानेपानीको सभा हलमा संस्थाको १७ औँ वार्षिक साधारण सभामा अध्यक्ष भगिरथ राईले प्रस्तुत गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरीएको छ ।
प्रतिवेदनमा संस्थाले सञ्चालन गरेको मेची मिट मार्टबाट २०८०/०८१ मा १६ हजार ३३५ केजी ५०० ग्राम विभिन्न प्रकारका मासुजन्य वस्तु उत्पादन गरेर बेच्दा ६४ लाख १८ हजार ७६१ रुपैयाँ आम्दानी भएको उल्लेख छ ।
संस्थाले उत्पादन गरेको बोइलर कुखुराको मासु १३ हजार ७६४ केजी, खुट्टा–टाउको ८१४ केजी, पंगास माछा ७९० केजी, रहुँ माछा ५ केजी ८०० ग्राम, लोकल कुखुराको मासु ४६९ केजी, जिउँदो लोकल कुखुरा ८७ केजी २०० ग्राम, खसीको मासु ३४० केजी २०० ग्राम, खसीको भूडी ५२ केजी ८०० ग्राम, खसीको खुट्टा १२ केजी ५०० ग्राम बेचेको थियो ।
सदस्य कृषकहरुले उत्पादन गरेको करिव २० हजार बोइलर कुखुरा संस्थाको तीन वटा मासु बिक्री केन्द्रबाट बेचिरहेको छ । संस्थाको मेची मिट एग्रो फर्म पनि सञ्चालनमा छ ।
२०६५ सालमा स्थापना भएको संस्थाले ०७९ मा मेची मिट मार्ट र मेची मिट एग्रो फर्म सञ्चलनमा ल्याएको थियो । मेचीनगर–७ र वडा नम्बर ८ मा जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको छ ।
सहकारीले बैंकिङ व्यवसायतर्फ दुई हजार ८५९ शेयर सदस्य रहेको संस्थाको चुक्ता पुँजी १ करोड ४७ लाख ६० हजार १०० र नाफा १३ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।