झापा, २५ पुस : बुद्धशान्ति गाउँपालिका वडा नं ६ र ७ जोड्नका लागि बनेको देशकै तेस्रो लामो तथा कोशी प्रदेशको पहिलो लामो झोलुङ्गे पुलको बिहीबार उद्घाटन गरिएको छ।
झापा क्षेत्र १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुलको उद्घाटन गर्नुभएको हो।
बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथि निर्माण भएको ४७७ मिटर लम्बाइको झोलुङ्गे पुल बिहीबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ। पुल उद्घाटन गर्दै सांसद शर्माले पुल आवतजावतको माध्यम मात्र नभएर स्थानीयबासी जीवन बदल्ने आफूले विश्वास लिएको बताउनुभयो।
अब बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने नभइ पुलले इलाम र झापाका गाउँहरूलाई पनि जोड्ने स्थानीयबासीको आशा छ। सोही आशा यथार्थमा परिणत हुने विश्वास आफूहरूले लिएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताउनुभयो।
पुलमा अहिलेदेखि नै मानिसहरूको घुइँचो लाग्न थालेको छ। उक्त पुल निर्माणको गत असार २४ गते झापा क्षेत्र नं १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिलान्यास गरेका थिए। थानी जगदम्बा जेभी काठमाडौंले निर्माण गरेको झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसामा पारेको थियो। २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि करिब ६ महिनामै उक्त काम सम्पन्न भएको हो।