शनिवार, वैशाख २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

झापामा पूर्वाञ्चल क्यान्सर सम्मेलन,७ वटा देशबाट ३५० जना विशेषज्ञ सहभागी

शुक्रवार, फागुन २, २०८१

बिर्तामोड, २ फागुन : झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा सम्मेलन सुरु भएको छ । स्वास्थ्य चुनौति बनिरहेको क्यान्सर रोगको उपचारलाई अझ राम्रो बनाउने लक्ष्यका साथ झापामा आजबाट पूर्वाञ्चल क्यान्सर सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा सार्कका सात मुलुकका ३५० विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने अस्पतालका मेडिकल डाइरेक्टर तथा सम्मेलनका संयोजक डा. वीरेन्द्र यादवले बताउनुभयो ।

सम्मेलनको शुभारम्भ आज विर्तामोडस्थित अस्पतालको सभाहल भएको छ । शनिवार र आइतवार मेचीनगरको पाँचतारे होटल मेची क्राउनमा विशेष छलफल कार्यक्रमहरु सञ्चालन गर्दै सम्मेलन सम्पन्न गरिने छ । सम्मेलन शुक्रवार, शनिवार र आइतवार सञ्चालन हुनेछ । सम्मेलनमा क्यान्सर उपचारमा संलग्न एक सय जना विशेषज्ञ चिकित्सकहरुले प्रस्तुत गर्ने कार्यपत्रमाति व्यापक छलफल हुने डा. यादवले जानकारी दिनुभयो ।

दुई वर्षअघि पूर्वाञ्चल क्यान्सर अस्पतालले नै पहिलोपटक यस्तै सम्मेलनको आयोजना गरेको थियो ।
“यो अन्तर्राष्ट्रिय स्तर र महत्वको सम्मेलन हो,” उहाँले सम्मेलनको बारेमा जानकारी दिन आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो–“स्तन र जीआई क्यान्सरका उदीयमान प्रवृत्तिहरुका विषयमा सम्मेलन केन्द्रित हुनेछ ।”
क्यान्सर रोग विशेषज्ञहरुले आगामी दिनमा उपचार सेवालाई थप उचाईमा पुराउन सम्मेलनले महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । डाक्टरहरुबीच सिक्ने र सिकाउने सम्मेलनमा उपचार सफल भएका व्यक्तिहरुले आफ्नो अनुभव समेत राख्ने कार्यक्रम छ ।

पत्रकार सम्मेलनमा पूर्वाञ्चल क्यान्सर अस्पतालले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चा कमाइरहेको बताइएको छ । क्यान्सर उपचारका लागि पूर्वाञ्चल क्यान्सर अस्पताल सुविधा सम्पन्न र अत्याधुनिक प्रविधिहरुको उपलब्धताले विरामीहरुले अन्तराष्ट्रिय स्तरको सेवा दिइरहेको चर्चा भएको छ ।

अधिकांश डाक्टरहरुले क्यान्सर मृत्यु नभएको बताएका छन् । अन्य रोग जस्तै क्यान्सर एउटा रोग भएकाले उपचारबाट निको पार्न सकिने धारणा व्यक्त गरेका थिए ।

पत्रकार सम्मेलनमा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालका संस्थापक अध्यक्ष प्राडा मदनकुमार पिया, वीएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्मा, अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर