बिहिवार, असार २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता

सोमवार, फागुन १२, २०८१

स्वीट्जरल्याण्ड, १२ फागुनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरुबीच साइडलाइन भेटवार्ता भएको उहाँको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा उहाँहरुबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा देउवाले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय २९औँ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा अजरबैजानलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

नेपाल र अजरबैजान नाम र जि७७ संगठनका सदस्यका रुपमा विकासशील देशहरुका समस्याहरु साझा रुपमा अन्तरराष्ट्रिय मञ्चहरुमा उठाउँदै आएका मन्त्री डा देउवाले बताउनुभएको थियो ।

मन्त्री डा देउवाले जलवायु परिवर्तनका क्षेत्रमा अजरबैजानको प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा पनि दुवै देशले विकासशील देशहरुमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तरराष्ट्रिय मञ्चहरुमा साझा आवाज उठाउने बताउनुभयो ।

साथै उहाँले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य प्रमुख विषय बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तरराष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि अजरबैजानलाई पनि आमन्त्रण गर्नुभयो ।

सम्बन्धित खबर