विराटनगर, १२ फागुन : कोशी प्रदेशसभामा आजको बैठकले ‘प्रदेश बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव गर्नुभएको थियो ।
विधेयकको दफावार छलफलका लागि कुनै पनि सांसदले सहभागी नजनाएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सो विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।
पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले कोशी प्रदेश ‘प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफमा विधेयकलाई समयसापेक्ष बनाउन संशोधन गर्नुपरेको जानकारी दिनुभयो ।
उहाँले यो विधेकयले वातावरणलाई सन्तुलन बनाउन र जलवायु परिवर्तनले हुने असरलाई कम गर्न मद्दत गर्ने भन्दै विधेयकले वातावरण अध्ययन प्रतिवेदनलाई जिम्मेवार बनाउन सहयोग गर्ने धारणा राख्नुभएको थियो ।
विशेष समय
विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका तर्फबाट प्रेमराज थाम्साङले जैविक विविधता र वित्तीय सङ्घीयताका निम्ति अमेरिकी सरकारबाट आउने अनुदान रोकिनुमा सरकारको प्रतिक्रिया आउनुपर्ने धारणा राख्नुभयो ।
विशेष समयमै नेपाली कांग्रेस संसदीय दलका तर्फबाट गोपाल तामाङले केबुलकार काण्डबाट ताप्लेजुङको स्थिति र परिस्थितिलाई साम्प्रदायिक बत्र नदिन सरकार गम्भीर हुनुपर्छ भत्रुभयो ।
शून्य समय
कोशी प्रदेशसभाका सदस्य विनोद राई, गोम्बु शेर्पा, शोभा चेम्जोङ, रामप्रसाद महतो, निरन राई र भक्तिप्रसाद सिटौलाले शून्य समयमा आ–आफ्ना निर्वाचन क्षेत्रमा देखिएका समस्याहरूप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ः३० बजे बस्नेछ ।





