काठमाडौँ, १३ फागुन: चीनले दक्षिण कोरियाली फिल्म, के-पप र टिभी श्रृंखलामाथि लगाएको अघोषित प्रतिबन्ध हटाउने तयारी गरेको छ । डेडलाइन म्यागेजिनका अनुसार सम्भवतः मे महिनादेखि यसको थालनी हुनेछ ।
‘ प्रतिबन्धहरू खुकुलो पार्नुले चीन ‘वुल्फ वारिअर’ कूटनीतिक नीतिबाट विश्वभर आफूविरोधी भावनालाई कम गर्ने उद्देश्यले ‘स्माइल पोलिसी’तर्फ सरेको संकेत देखिन्छ’ समाचारमा भनिएको छ ।
यस कदमलाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अस्थिरताको प्रतिक्रियाको रूपमा पनि व्याख्या गर्न सकिन्छ, जसले धेरै राष्ट्रहरूमा ट्यारिफ लगाउने धम्की दिइरहेको छ, यद्यपि अमेरिकी राष्ट्रपतिको चीनप्रतिको दृष्टिकोण अझै स्पष्ट छैन ।
अमेरिकी थाड मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गरेपछि चीनले सन् २०१६ मा कोरियाली संगीत, चलचित्र, नाटक, खेल र अन्य सबै प्रकारका पप संस्कृतिको वितरणमा प्रतिबन्ध लगाउन थालेको थियो ।
बेइजिङले आधिकारिक रूपमा प्रतिबन्धलाई कहिल्यै स्वीकार गरेको छैन । थोरै कोरियाली फिल्म र नाटक चिनियाँ हल वा स्ट्रिमिङ प्लेटफर्ममा रिलिज भएका छन् । चीनले के-पप कलाकारलाई देशमा प्रदर्शन गर्न अनुमति समेत दिएको छैन ।
कोरियाको मनोरञ्जन बजार पनि प्रतिबन्धले पूर्णरुपमा प्रभावित भएको छ । केडीबी फ्युचर स्ट्राटेजी रिसर्च इन्स्टिच्युटको अध्ययनअनुसार चिनियाँ प्रतिबन्धले सन् २०१७ मा कोरियाली उद्योगलाई १५.३ बिलियन अमेरिकी डलरको क्षति पुगेको छ ।




