बिर्तामोड, १८ फागुन : झापाको कचनकवलमा पुराणको प्रसाद खाँदा १६ जना बिरामी परेका छन् । फुडपोइजन भएर
बिरामी परेकाहरूको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
फुडपोइजन भएर बिरामी परेकाहरूमध्ये बालबालिकादेखि वृद्धवृद्धा समेत रहेको स्वास्थ्य केन्द्रका डा. दिपेन राजवंशीले जानकारी दिनुभयो । विषाक्त खाना खाएका कारण उनीहरूमा वान्ता हुने, झाडापखाला लाग्ने, पेट पोल्ने तथा उच्च ज्वरो आउने लक्षण देखा परेको डा. राजवंशीको भनाई छ ।
बिरामीहरूमा इन्टापमिवा हिस्टोलाइटिका नामक कीटाणु समेत देखा परेको डा. राजवंशीले जानकारी दिनुभयो । कचनकवल गाउँपालिका–६ बनियानीका स्व. पशुपति दाहालको वार्षिक पूण्य तिथिको अवसरमा आयोजित पुराणमा आफन्त लगायत छरछिमेकीहरु गएर प्रसाद खाएका थिए । सोही प्रसाद खाँदा उनीहरू फुडपोइजन भएर बिरामी परेका हुन् । बिरामीहरूको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।


