बुधवार, असार २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

पार्टीका जनसंगठनलाई विवाद रहित बनाउनु पर्ने: महासचिव पोखरेल

सोमवार, फागुन १९, २०८१

काठमाडौँ, १९ फागुन: नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका जनसंगठनलाई विवाद रहित बनाउनु पर्ने बताउनुभएको छ ।

नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले यसले संगठनलाई एकताबद्ध बनाउने बताउनुभयो । ‘बैशाखसम्म जनसंगठनका अधिवेशन गर्ने भनेर तयारी भएको छ, अधिवेशन जति समझदारीका साथ, एकताका साथ निर्विवाद गर्न सकियो स्वाभाविक रूपमा त्यसले काममा सहजता प्राप्त हुन्छ, त्यस बारेमा अहिलेदेखि नै सोच्नु पर्छ’, उहाँले भन्नुभयो ।

पोखरेलले यस विषयमा जनसंगठन संयन्त्रका प्रमुख, जनसंगठनका इन्चार्जहरू र संगठनका अध्यक्षहरूलाई गम्भीर हुन महासचिव पोखरेलले आग्रह गर्नुभयो । ‘सुरुदेखि नै मिहिनेत गर्‍यो भने त्यो गर्न सकिन्छ, पछि एकैचोटी गर्दा नमिल्न सक्छ, छलफल गर्दै जाँदा सबै विषय टुङ्गिन्छन्, वातावरण बनायो भने चुनाव नै गराउनु पर्ने स्थिति नबन्न सक्दछ, म बलियो छु भन्ने बुझाइले चुनाव हुने त हो नि’, पोखरेलले भन्नुभयो ।

पोखरेलले एमालेका जनसंगठनहरुको अधिवेशन सन्देशमूलक हुनुपर्नेमा जोड दिनुभयो । ‘नवीन सोच र योजनाहरू अधिवेशनबाट सार्वजनिक हुनु पर्दछ, हाम्रो ध्यान बढी निर्वाचनमा केन्द्रित भएको छ, फरक ढङ्गले अघि बढ्ने कुरा महाधिवेशनमा हुनुपर्दछ’, उहाँले भन्नुभयो ।

जनसंगठनलाई आधारभूत तहसम्म स्थापित गर्न पार्टीले जनकेन्द्रित अभियान सञ्चालन गरेको पोखरेलले बताउनुभयो । ‘जनसंगठनको विस्तार र विकासको लागि यो अभियान महत्त्वपूर्ण छ, त्यसैले यो अभियानलाई जनसंगठनले महत्त्व दिनु पर्दछ’, पोखरेलले भन्नुभयो ।

नेकपा एमाले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा भएको बैठकमा जनसंगठनका इन्चार्जहरू, जनसंगठनका अध्यक्षहरू, पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर