शुक्रवार, चैत १, २०८१
Nayapaper | अनलाइन पत्रिका

बगान युथ क्लब बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा

शुक्रवार, फागुन २३, २०८१

बिर्तामोड, २३ : फागुन : सुनसरीको न्यु स्टार क्लबमाथि शानदार जित निकाल्दै झापा कचनकवलको बगान युथ क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा न्यु स्टार क्लबलाई ३–० गोल अन्तरले हराउँदै बगान अन्तिम चारमा पुगेको हो ।

खेलमा हाबी देखिएको बगानका लागि खेलको ६० औँ र ६९ औँ मिनेटमा मिलन चाम्लिङ राईले गोल गरे । त्यस्तै, खेलको ६५ औँ मिनेटमा दिपेश श्रेष्ठले एक गोल थपे ।

खेलको प्लेयर अफ द म्याच बगानका २ गोलकर्ता राई भए । उनले नगद ३ हजार र ट्रफी पाए । उनलाई मुख्य प्रवर्धक बिर्तामोड ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवा, आयोजकका अध्यक्ष हिमाल कन्दङवा लगायतले पुरस्कार प्रदान गरे ।

भोलिको पहिलो सेमिफाइनल खेल आयोजक बुट्टाबारी युनाइटेड क्लब र इलामको रेडहर्स फुटबल क्लबीच हुने आयोजक बुट्टाबारी युनाईटेड क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी पाउने क्लबका सचिव रविन राईले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार पुरस्कार पाउने छन् ।

त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने वरिष्ठ उपाध्यक्ष मरिचमान राईले बताए ।

सम्बन्धित खबर