पाल्पा, २ चैत: उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार पूर्वविशिष्ट पदाधिकारीको सुविधा बढाउने योजनामा नरहेको बताउनु भएको छ । । नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार बिहान गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सरकारले निर्णय नै नगरेको विषयमा हल्ला चलाइएको बताउनु भयो ।
“देशको आर्थिक अवस्थाका विषयमा सरकार जानकार छ। यस्तोबेला पूर्वविशिष्टलाई थप सुविधा दिने निर्णय सरकारले गरेको छैन र गर्दैन,’’ सिंहले भन्नुभया, ‘‘अहिले दिँदै आएको सुविधा कानुनद्वारा व्यवस्थापन गर्न भने जरुरी छ।’’
सिंहले सर्वोच्च अदालतको फैसलाले नै कानुन बनाउन निर्देशन गरेकाले कानुन बनाउनु सरकारका लागि बाध्यात्मक रहेको बताउनु भयो । कानुन बनाएर व्यवस्थित गर्दा कसको सरकार छ त्यसअनुरूप सुविधा दिने तजविजी अधिकार अन्त्य हुने बताउनु भयो ।
‘‘कानुन बनेपछि कानुनले तोकेका आधारमा मात्र सुविधा दिन मिल्ने हुँदा सरकारमा को छ र सुविधाका विषयमा कसरी निर्णय भयो भनेर हेर्नुपर्ने अवस्था आउँदैन,’’ सिंहले भन्नुभयो, ‘‘तर यसबारे कुनै निर्णय भइसकेको छैन, गृहले आफ्नो ढंगले तयारी गरेको हुन सक्छ।’’


