आइतवार, चैत ३, २०८१
Nayapaper | अनलाइन पत्रिका

पत्रकार उपचार सहयोग कोषमा ‘दिनको एक रुपैयाँ’ अभियानको थालनी

शनिवार, चैत २, २०८१

बिर्तामोड, २ चैत्र : प्रेस चौतारी नेपाल झापामा स्थापित पत्रकार उपचार सहयोग कोषका परिकल्पनाकार, पूर्व जिल्ला अध्यक्ष तथा हाल केन्द्रीय सदस्य गोपाल काफ्लेले आज आफ्नो जन्मदिनमा चौतारीको कार्यालय प्रयोजनार्थ एक सेट सिलिङ पंखा प्रदान गर्नुभएको छ।

प्रेस चौतारी झापाका उपाध्यक्ष सुनिरा मैनालीको अध्यक्षता तथा केन्द्रीय सदस्य भिमा सिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित संक्षिप्त कार्यक्रममा पत्रकार काफ्लेले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा पत्रकार काफ्लेले आफू जन्मिएदेखि हिजोसम्म व्यतित गरेका हरेक दिनको एक रुपैयाँका दरले हुन आउने रकम १८ हजार ९८० रुपैयाँ पत्रकार उपचार सहयोग कोषमा प्रदान गर्ने घोषणा पनि गर्नुभएको छ ।

‘वर्षमा एक दिन पक्कै पनि हामी सबैको जन्म दिन आउँछ, यो दिनलाई विशेष स्मरणीय बनाउन र आफैंले परिकल्पना गरेको पत्रकार उपचार सहयोग कोषलाई थप गहकिलो बनाउन ‘दिनको एक रुपैयाँ’ सार्थक हुने ठानेर आफैंबाट सुरुवात गरिएको’ केन्द्रीय सदस्य काफ्लेले बताउनुभयो।

उक्त विशेष कार्यक्रममा पत्रकार उपचार सहयोग कोषका संयोजक तथा केन्द्रीय सदस्य भिमा शिवाकोटीले काफ्लेलाई जन्मदिनको शुभकामना दिँदै ‘दिनको एक रुपैयाँ’ घोषणाले सामाजिक उत्तरदायित्व बढ्ने विचार राख्नुभयो । पत्रकार उपचार सहयोग कोषको बृद्धिका निम्ति यस्तो अभियान रचनात्मक बन्नेमा उहाको विश्वास छ । उहाले यस्तो प्रेरणादायी कदमले नै समाज रुपान्तरणको थालनी हुने पनि बताउनु भयो।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, कोशी प्रदेश समितिका सदस्य राजकुमार ओली, पत्रकार महासंघ झापाका सहसचिव रमेश तिवारी, जिल्ला सदस्य भरत प्रसाई, अस्मिता साँखी, कबिचन्द्र गुरागाइँ, रवीकरण वान्तवाको उपस्थिति थियो ।

सम्बन्धित खबर