झापा, ८ चैत : झापाको भद्रपुर नाकाबाट बिस्कुटको प्याकेटभित्र लुकाएर लागूऔषध ब्राउनसुगर भित्र्याउने एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो १ः२० बजेको समयमा भद्रपुर नगरपालिका ४ स्थित डाँगीबारी क्षेत्रबाट तेह्रथुमका युवालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तेह्रथुमको आठराई गाउँपालिका १ घर भई हाल झापा कनकाई नगरपालिका ७ दुर्गापुर बस्ने २१ वर्षीय सुन्दर सिवालाई २१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ पैदल आइरहेका सिवालाई सीमानाकामा तैनाथ सशस्त्र प्रहरीले शङ्का लागी चेकजाँच गर्दा उनले बोकेको सारइन्थेंटिक झोलाभित्र रहेको सुगर फ्रि बिस्कुटको प्याकेटभित्र लुकाइल्याएको ३ पोका ब्राउनसुगर फेला परेको थियो ।
उनको साथबाट नगद ३ हजार ५३० रुपैयाँ, एउटा मोबाइल लगायतको सामानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई ब्राउन सुगरसहित आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइएको छ ।


