विराटनगर, ८ चैत। कोशी प्रदेश सरकारले कडा रोग लागेका दुई हजार ५ सय बढी विरामीलाई आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले कडा रोग लागेका २ हजार ५ सय ५६ जनालाई १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँ उपचार सहायता बाड्ने भएको हो ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईका अनुसार मृगौला प्रत्यारोपण गराउनेको हकमा एक लाख र अन्य कडा खालका रोगको उपचारका लागि ५० हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिनेछ ।
आर्थिक सहायताका लागि दुई वर्षयता २ हजार ५ सय ५६ बढी निवेदन परेको थियो । बजेट अभाव भएको भन्दै चालु आर्थिक वर्षमा भने नयाँ निवेदन दर्ता भएको छैन । उपचार सहायताका लागि निवेदन दर्ता भएकाहरुलाई आजबाट सहायता उपलब्ध गराउन सुरु गरेको भौतिक पूर्वाधार मन्त्री राईले बताउनु भयो ।
कार्यविधीमा मृगौला प्रत्यारोपण गर्नेलाई २ लाख र अन्य कडा खालका रोग लागेकाहरुलाई एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर बजेट अभावमा सरकारले आधा मात्रै बाड्ने निर्णय गरेको मन्त्री राईले बताउनु भयो ।
यसअघि प्रदेश सरकारले कडा रोग लागेका विपन्न नागरिकहरुलाई औषधि उपचार बापत आर्थिक सहायता प्रदान गर्नका लागि पाँच करोड बजेट विनियोजन गरेको थियो ।
मन्त्री राईका अनुसार प्रकृया पुरा गरेर आएका क्यान्सर रोगको उपचारका लागि १ हजार ५०७ जना, मृगौला रोग लागेका ५३६ जना, मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने ८५ जना, मुटुरोग लागेका ३३१, कलेजो रोगका १५ थालासिमियाका ३ पार्किन्सनका ७ फोक्सोको १ स्पाइनलईन्जुरी ४१, हेड इन्जुरी २९ र मस्तिष्कघात भएका १ जनाले उपचार सहायता रकम प्राप्त गर्ने छन्।
यो रकम मन्त्रालयले बिरामीको खातामा पठाउँनेछ ।


