काठमाडौं, १२ चैतः एएफसी एसियन कप क्वालिफायरको तेस्रो चरणमा आज नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियाविरुद्ध खेल्दै छ ।
अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पछिल्लो दुई खेलमा अपराजित छ । नेपालले यसअघि अफगानिस्तान र सिंगापुरविरुद्ध समान १–० को जित निकालेको थियो । नेपाली टिम आज सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।फिफा वरीयतामा मलेसिया नेपालभन्दा ४३ स्थान माथि छ । नेपालले हालसम्म मलेसियालाई हराउन सकेको छैन ।
तर, खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका मुख्य प्रशिक्षक म्याट रोसले आफूहरूले तीन अंकका निम्ति प्रतिस्पर्धा गर्ने बताउनु भयो । “हामी तीन अंकको लागि नै खेल्नेछौँ,” सोमबार सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, “केही गरी एक अंक मात्र पाए म त्यसमा पनि खुसी हुनेछु । यदि, हामीले बराबरी सोचेर खेल्यौँ भने हामीले शून्य अंक हात पार्छौं ।”
उहाले भनुभयो, “म सधैँ आफूलाई जित्न सक्ने विश्वास लागेको टिम छान्छु । म नेपालमा यो जिम्मेवारीमा आउनुको कारण नै सकारात्मक र आक्रमक खेलका लागि हो, जुन मैले वाचा गरिसकेको छु ।”
मलेसियाको सुल्तान इब्राहिम रंगशालामा यो खेल नेपाली समयानुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।


