आइतवार, चैत १७, २०८१
Nayapaper | अनलाइन पत्रिका

रुस र युक्रेनबीच ‘व्ल्याक सी’ र उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्ने सहमति

बुधवार, चैत १३, २०८१

वासिङ्टन १३ चैत: संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताका क्रममा रुस र युक्रेनले ‘व्ल्याक सी’ र ऊर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न मङ्गलबार सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दशौँ हजार मानिसको ज्यान लिइसकेको युद्धको शीघ्र अन्त्यका लागि जोड दिइरहेका बेला अमेरिकी वार्ताकारहरूले साउदी अरबको राजधानी रियादमा युक्रेन र रुसका प्रतिनिधिमण्डलबीच तीन दिनसम्म छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

अमेरिकी राष्ट्रपतिको कार्यालय (ह्वाइट हाउस) ले जारी गरेको वक्तव्यमा भनिएको छ, “दुबै देश ‘सुरक्षित नेभिगेसन सुनिश्चित गर्न, बल प्रयोग अन्त्य गर्न र ‘व्ल्याक सी’मा सैन्य उद्देश्यका लागि व्यापारिक जहाजको प्रयोग रोक्न सहमत भएका छन्। दुबै देशमा ऊर्जा पूर्वाधारमा आक्रमणमा प्रतिबन्ध लगाउने उपायहरू पनि खोजी गर्ने सहमति भएको संयुक्त राज्य अमेरिकाले जनाएको छ ।

यसैबीच, क्रेमलिनले रूसको कृषि क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेपछि मात्र ‘ब्ल्याक सी’ मा आक्रमण रोक्ने सम्झौता लागू हुने बताएको छ । रुस र संयुक्त राज्य अमेरिकाले गत हप्ता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको ३० दिने ग्यास (इन्धन)को पाइपलाइन, विद्युत गृह र तेल प्रशोधन केन्द्रमा लागू हुने ऊर्जा युद्धविराममा सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको चर्को दबाबपछि कूटनीतितर्फ फर्केका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सहायता र गुप्तचर आदानप्रदानमा केही समयका लागि प्रतिबन्ध लगाउनेलगायत सम्झौताले काम गर्छ कि गर्दैन भनेर अहिले नै भन्न नसकिने तर ती ‘सही कदम’ भएको बताउनुभएको छ ।

जेलेन्स्कीले किएभमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “वार्तामा भविष्यमा युद्धविरामका लागि तेस्रो पक्षलाई ल्याउने विषयमा पनि छलफल भएको छ ।

दुवै पक्षसँग सम्बन्ध कायम गरेको टर्कीले ‘ब्ल्याक सी’को अवस्थाको अनुगमन गर्न सक्ने र मध्यपूर्वी राष्ट्रले ऊर्जा सम्झौताको पर्यवेक्षण गर्न सक्ने उहाँले बताउनुभयो ।

सम्बन्धित खबर