इटहरी, १३ चैत: सुनसरीको इटहरी उपमहानरपालिका–६, स्थित सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रण गर्ने क्रममा सातजना घाइते भएका छन् । जसमध्ये पाँचजना सुरक्षाकर्मी छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, आगो अझै नियन्त्रणमा आएको छैन ।
उहाँले भन्नुभयो, “पाँच घण्टाअघि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । पाँचजना सुरक्षाकर्मी र अन्य गरी सातजना आगो नियन्त्रण गर्ने घाइते भएका छन,” उनीहरू सबैको उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
सशस्त्र प्रहरीका एसएसपी मनिष थापाको नेतृत्वमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
यसअघि, आगलागीमा फसेका आठजना पुरुष र तीन महिलाको उद्धार गरिएको थियो । आगलागीमा फसेका मासिनहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पनि पुगेको थियो ।
सेन्ट्रल प्लाजाको छैटौं तलामा रहेको बरण्डा होटलको रेष्टुराँ, किचन र पाँचौं तलामा रहेको अफिस कक्षमा आगोले क्षति गरेको होटल सञ्चालक राजेश श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले दिएको जानकारी अनुसार बिहान साढे आठ बजेतिर होटलका कर्मचारीहरू अफिस कक्षमा पुगेका थिए। अफिसको ढोका खोलेर भित्र पस्दा कोठा धुँवाले भरिएको अवस्थामा फेला परेको थियो।


