शुक्रवार, मंसिर ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

राप्रपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने

बुधवार, फागुन २४, २०७९

 काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज करिब चार घन्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मतदानमा सहभागी नभई तटस्थ बस्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भोलि हुने राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भोलि हुने राष्ट्रपतिको निर्वाचनको सन्दर्भलाई लिएर केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा झन्डै चार घन्टा छलफल भयो । बैठकले निर्वाचनमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरेको छ । पार्टी कार्यकर्ता, सुभेच्छुक एवं जनताको भावनाबमोजिम पार्टीले निर्णय लिएको हो ।”

प्रवक्ता श्रेष्ठले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको भोट निर्णायक पनि नभएकाले तटस्थ बस्ने निर्णय लिएको उल्लेख गर्नुभयो ।

भोलि हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहनुभएको छ । राष्ट्रपति निर्वाचनको मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने तय गरिएको छ ।

सम्बन्धित खबर