काठमाडौं, १७ चैत : पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गर्नुभएको छ । आइतबार बिहान जरिवानापत्र लिएर काठमाडौं महागरपालिकाको नगरप्रहरी टोली निर्मल निवास पुगेको थियो ।
शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादीहरुको आन्दोलनले निम्ताएको फोहोर र विनासको हिसावकिताव बोकेर नगर प्रहरीको टोली आइतबार बिहान निर्मल निवास पुगेको थियो तर, शाहले पत्र बुझ्न नमानेपछि टोली पत्र लिएरै फर्केको हो ।
प्रदर्शनका क्रममा रुख, बिरुवा तथा रेलिङ तोडफोड र वातावरण प्रदूषण गरेको भन्दै पूर्वराजा शाहलाई रु सात लाख ९३ हजार जरिवाना तोकेको छ । महानगरले प्रदर्शनस्थल आसपाससहित विभिन्न स्थानमा सडक तथा सडकपेटीमा जथाभावी फोहर गरेको कसुरमा रु छ लाख, आगजनी नियन्त्रण गर्न गएको दमकलमाथि ढुङ्गा प्रहार गरी क्षति पुर्याएको कसुरमा रु एक लाख तीस हजार, रुख, बिरुवा तथा रेलिङ एवं तीनकुने आइल्याण्डमा तोडफोड कसुरमा रु ६३ हजार जरिवाना र क्षतिपूर्ति तोकेको हो ।
पूर्वराजा शाहसहितको समर्थनमा शुक्रबार भएको प्रदर्शनमा सहभागीले सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनीसमेत गरेका थिए । त्यस क्रममा प्रहरीसँगको झडपमा परी एक प्रदर्शनकारीको मृत्यु र अर्का एक पत्रकारको दृश्य छायाङ्कनका क्रममा प्रदर्शनकारीले एक व्यापारिक भवनमा लगाएको आगोमा जलेर मृत्यु भएको थियो ।


